होटलमा ‘स्विप अपरेसन’ १६ जना पक्राउ

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर । 

भक्तपुरका विभिन्न होटल, रेस्टुरेन्ट तथा खाजा घरबाट अनैतिक कार्य गर्ने १६ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त जगातीले ती स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

अनैतिक कार्य हुँदै आएको सूचनाका आधारमा छापा मारेर ८ पुरुष र ८ जना महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले जानकारी दिनुभयो।

जगाती क्षेत्रका होटल छाडा यौन संस्कृतिको अखडा बन्न थालेपछि प्रहरीले विशेष शुद्धीकरण अभियान शुरू गरेर ‘स्विप अपरेसन’ चलाएको डीएसपी जोशीको भनाइ छ। जोशीका अनुसार, पिसफुल, प्याराडाइज, कस्तुरी खाजाघर, ए–वान र थकाली खानाघरबाट उनीहरूलाई नियन्त्रण लिएको हो।

अरनिको राजमार्ग आसपासमा खुलेका केही होटलजन्य व्यवसायमा कानुनविपरीतका गलत कार्य हुँदै आएको गुनासो बढेपछि प्रहरीले छापा मारेको हो।
विशेषगरी यस क्षेत्रमा सञ्चालित खाजाघर, गेस्ट हाउस तथा रेस्टुराँलाई प्रहरीले निगरानीमा राखेको छ। यौनजन्य क्रियाकलापकै कारण सिर्जित विभिन्न घटना दुर्घटना, अस्वस्थ प्रतिस्पर्धाजस्ता कारणले समाजमा विकृति बढेको गुनासो पछि प्रहरीले सुदृढीकरण अभियान अघि बढाएको हो।

नियन्त्रणमा लिएकाहरू महिला तथा पुरुषहरूलाई प्रहरी सामाजिक मनोपरार्मशसमेत दिइने भएको छ। उनीहरूलाई पहिलोपटक चेतावनी दिएर छोडिने प्रहरीले जानकारी दिएको छ।