विदुर गिरी
सिनेमाको शहरमा अहिले चर्चा छ सेन्टी भाइरसको। गत शुक्रबार आमा नामक सिनेमासँगै रिलिजमा आएको सेन्टी भाइरसको चर्चा मुख्यतः २ कारणले छ। पहिलो कारण यो सिनेमा धुर्मुस सुन्तली जोडी अर्थात् सीताराम कट्टेल र कुञ्जना घिमिरे दम्पतीले निर्माण गरेको र सँगै खेलेको पहिलो सिनेमा हो। दोस्रो कारण धुमुर्स सुन्तलीले यो सिनेमाको मुनाफाबाट आर्जित ५० प्रतिशत रकम आपूmहरूको अगुवाइमा चितवनमा निर्माणाधीन गौतम बुद्व क्रिकेट रंगशाला निर्माणमा खर्च गर्ने घोषणा गरेका छन्।
दर्शकहरू यी दुई कारणले नै सेन्टी भाइरस हेर्न ओइरिएका छन्। धुर्मुस सुन्तलीले अभिनय गरेको सिनेमामा हाँसोको बहार हुने अपेक्षाले सेन्टी भाइरस हेर्न हलसम्म पुग्ने दर्शक एकथरी छन् भने सिनेमा हेरेर थोरै भए पनि क्रिकेट रंगशाला निर्माणमा योगदान गर्न चाहने दर्शक अर्कोथरी छन्।
सिनेमा हेरेर मानिसहरूले मिश्रित प्रतिक्रिया दिँदै आएका छन्। तर सत्यचाहिँ के हो भने सेन्टी भाइरस हेर्नुअघि यो सिनेमा अहिले सिने बजारमा चल्दै आएको कमेडी जेनरामा छैन है भनेर मानसिक रूपमा तयार हुनैपर्छ। कमेडीको अपेक्षा नगरी सिनेमा हेर्न बसे यसले मनोरञ्जन त दिन्छ नै, देशको राजनीतिक अवस्था कति भताभुंग र लथालिंग छ भन्ने यसले छ्यालब्याल पारिदिन्छ।
चुनावको नजिता आप्नो पक्षमा ल्याउनका लागि राजनीतिक पार्टी र नेताहरूले कुन हदसम्मको तिडकम गर्न सक्छन्? चुनाव जित्नका लागि पहाडै फोड्न तयार हुनेहरू जितपछि कसरी टाढिन्छन् र फेरिन्छन्? पार्टीका लागि घर, परिवार, समाज, नातागोगता केही नभनी मरिहत्ते गर्नेहरूको नियति के हुन्छ? राजनीतिले एउटा परिवार र सिंगो समाजलाई कसरी छिन्नभिन्न बनाउन सक्छ? यही नै सेन्टी भाइरसको मूल कथा हो। सिनेमा राजनीतिबाटै शुरू हुन्छ र राजनीतिमै गएर सकिन्छ। राजनीतिक विसंगतिलाई दरिलो झापड दिँदै र गतिलो सन्देश छोड्दै सेन्टी भाइरस सकिन्छ।
सिनेमाको कथा नौलो नभए पनि पटकथा चुस्त लाग्छ, संवाद चोटिलो। दर्शकलाई खल्लो बनाउने विषयचाहिँ के हुन सक्छ भने कमेडीबाटै माथि आएका धुर्मुस सुन्तलीलाई पहिलोपटक ठूलो पर्दाको सिनेमामा देख्न पाएका दर्शकले उनीहरूबाट हास्न पाउँदैनन्। अर्थात् कमेडीको आशा गर्नेहरूलाई खल्लो महशुस हुन सक्छ। हरेक कमेडी कलाकारले बनाएको र खेलेको फिल्ममा भरपुर हाँसो नै हुनुपर्छ भन्ने केही छैन।
सबै हास्य कलाकारले हाँसोमै आधारित सिनेमा नै बनाउनुपर्छ वा खेल्नुपर्छ भन्ने पनि केही छैन। तर हाँसोलाई साथमा लिएर सिनेमा अगाडि बढाएको भए बढीभन्दा बढी दर्शक रमाउने सम्भावनचाहिँ बढी थियो। यद्यपि सिनेमामा हाँसो पूरै हराएको भने छैन। सिचुएसनल कमेडी र डाइलगले सन्तुष्ट हुन सक्ने ठाउँ पनि सेन्टी भाइरसमा छ।
सिनेमा संगीत श्रवणीय र कोरियोग्राफी आकर्ष छ। द्वन्द्व सामान्य छ भने छायांकन उत्कृष्ट लाग्छ। सम्पादन ठिकै छ।
कलाकारहरूले आ–आप्mनो ठाउँमा राम्रो क्षमता देखाएका छन् भने कतिपय पात्रलाई जस्टिफाइ गर्न नसकिएको महशुस पनि हुन्छ। समग्रमा सिनेमा हेरुञ्जेल पट्यार लाग्दैन। निर्देशकीय पक्ष सन्तोषजनक छ। निर्देशक रामबाबु गुरुङले नयाँपन र नयाँ स्वाद दिई नहाले पनि आप्mनोपन भने गुमाएका छैनन्।
सेन्टी भाइरसभित्र
निर्माण संस्थाः सुबिहानी फिल्मस्
निर्माताः डिन्डु लामा ह्योल्मो
कथाः कुमार कट्टेल र दीपक आचार्य
संगीतकारः राजनराज शिवाकोटी, शंकर थापा, सुशान्त गौतम र कालीप्रसाद बास्कोटा, कोरियोग्राफर ः शंकर बिसी
द्वन्द्व निर्देशकः कुमार मर्हजन
छायांकनः शैलेन्द्र डी कार्की
सम्पादनः निमेष श्रेष्ठ
निर्देशकः रामबाबु गुरुङ
कलाकारहरूः सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, वसन्त भट्ट, कमलमणि नेपाल, सन्दिप क्षेत्री, पवन खतिवडा, अलिस राई, सुनिता घिमिरे आदि
प्रतिक्रिया