लियोनसँग हार्यो युभेन्ट्स

0
Shares

लन्डन, (एजेन्सी)
जारी सिजनको यूईएफए च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब लियोनले इटालियन क्लब युभेन्ट्सलाई हराएको छ।
बुधबार राति भएको खेलमा युभेन्ट्स घरेलु टोली लियोनसँग १–० गोलअन्तरले पराजित भएको हो। लियोनले युभेन्ट्सलाई कुनै पनि खेलमा हराएको यो पहिलोपटक हो। यी दुई टोलीले यसअघि ६ पटक खेल्दा युभेन्ट्सले ५ मा जित र एक बराबरीको नतिजा निकालेको थियो।
लियोनको जितमा लुकास टोउसार्टले गरेको गोल नै निर्णायक बन्यो। खेलभर नै घरेलु टोलीलाई दबाबमा राखेको युभेन्ट्सले लियोनको बलियो रक्षापंक्ति तोड्न सकेन। खेलको ३१औं मिनेटमा लुकास टोउसार्टले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। सिक्स यार्डमा अनमार्क रहेका उनले हुसेन ओउअरको पासमा गोल गर्न सफल भएका थिए।
युभेन्ट्सले दोस्रो हाफमा पनि घरेलु टोलीलाई दबाबमा राखे पनि गोल गर्न नसक्दा हार भोग्नुप¥यो। जितसँगै लियोनले क्वार्टरफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ। त्यस्तैगरी, अर्को खेलमा यूईएफए च्याम्पियन्स लिगकै सर्वाधिक सफल स्पेनिस टोली रियल मेड्रिड भने इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटीसँग २–१ ले पराजित भएको छ।
रियलको घरेलु मैदान सान्टियागो बेर्नाबाउमा शुरुआती अग्रता लिएर पनि घरेलु टोलीले हारको सामना गर्नुपरेको हो। पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। खेलको ६०औं मिनेटमा इस्कोले गोल गर्दै रियललाई अगाडि बढाएका थिए। तर, ५ मिनेटको अन्तरमा दुई गोल फर्काउँदै सिटीले अवे मैदानमा महत्वपूर्ण अग्रता लियो।
७८औं मिनेटमा केभिन डे ब्रुयनको पासमा ग्याब्रिएल जेससले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसको ५ मिनेटमा नै सिटीले पेनाल्टीको अवसर पायो। ड्यानी कार्भाजलले रहिम स्टरलिङलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। डे ब्रुयनले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै सिटीलाई अग्रता दिलाए।
खेल सकिन ५ मिनेट समय बाँकी रहँदा रियल थप समस्याको सामना गर्नुप¥यो। कप्तान रामोसले जेससलाई लडाएपछि रेफ्रीले उनलाई सीधै रातो कार्ड देखाए। यससँगै रामोसले आगामी दोस्रो लेगको खेल पनि गुमाउने भएका छन्। सिटीले च्याम्पियन्स लिगमा रियललाई हराएको यो नै पहिलो अवसरसमेत हो। यी दुई टोलीबीच दोस्रो लिग मार्च १७ मा सिटीको मैदान इत्तिहादमा हुनेछ।