बीएससी सीएसआईटी क्रिकेट शनिबार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
न्यु समिट कलेजको आयोजनामा आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगिता शनिबारदेखि हुने भएको छ।
डिफेन्डिङ च्याम्पियनले प्रतियोगिता आयोजना गर्ने प्राबधानअनुरूप न्यु समिटले प्रतियोगिता आयोजना गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलन न्यु समिट कलेजका प्रिन्सिपल डा. शिवदत्त ज्ञवालीले जानकारी गराए।
पत्रकार सम्मेलनका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेश सिलवालले विद्यालय स्तरको प्रतियोगिता प्रतिभावान् खेलाडीको पहिचान गर्ने महत्वपूर्ण माध्यम भएको बताउँदै आयोजकलाई प्रतियोगिता आयोजनाका लागि धन्यवाद दिए। प्रतियोगितामा १३ छात्र टिमको सहभागिता रहनेछ।
सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने न्यु समिटका निर्देशक तथा प्रतियोगिता चोकराज दबाडीले जानकारी दिए।
समूह ‘ए’ मा न्यु समिट, भक्तपुर बहुमुखी क्याम्पस र सेन्ट जेभियर्स, समूह ‘बी’ मा सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी, स्वस्तिक कलेज र अमृत साइन्स कलेज, समूह ‘सी’ मा हिमालयन कलेज अफ इन्जिनियरिङ, मदन भण्डारी मेमोरियल कलेज, सेन्ट लरेन्स र पाटन बहुमुखी क्याम्पस तथा समूह ‘डी’ मा प्राइम कलेज, एकेडेमिया इन्टरनेसनल कलेज र नेपालय रहेका छन्।
विजेताले ६० हजार र उपविजेताले ४० हजार नगद पुरस्कार पाउनेछन्। फागुन २८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू मूलपानी क्रिकेट मैदानमा खेलाइनेछ।