सूचना प्रविधिसम्बन्धी नीति तयार, बीमा कम्पनीलाई निर्देशन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
बीमा कम्पनीलाई आन्तरिक सूचना प्रविधिसम्बन्धी नीति तयार गर्न बीमा समितिले निर्देशन दिएको छ। बुधबार एक निर्देशिका जारी गर्दै सो जानकारी दिएको हो।
समितिको निर्देशनअनुसार बीमा कम्पनीले जारी गर्ने नीतिमा अल्पकालीन र दीर्घकालीन सूचना प्रविधिसम्बन्धी रणनीति संलग्न गरेको हुनुपर्नेछ। यस्तै बीमा कम्पनीले प्रयोग गरेको प्रणालीलाई व्यवस्थित गर्न कम्पनीले आन्तरिक नियन्त्रण प्रणालीमा आवश्यक पहल गरेको हुनु उल्लेख गरेको छ।
बीमा कम्पनीले हार्डवेयर तथा सफ्टवेयर वा सो सम्बन्धी सक्कली उत्पादन मात्र प्रयोग गर्न पाउने छन्। त्यस्ता सक्कली इजाजतपत्र लाइसेन्ससमेत राख्न समितिले अनिवार्य गरेको छ।
सूचना प्रविधिको प्रणालीको रेखदेखका लागि बीमा कम्पनीले छुट्टै प्राविधिक कर्मचारीको व्यवस्था गर्नुपर्नेछ र त्यस्तो कर्मचारीको काम, कर्तव्य र अधिकार स्पष्ट रुपमा तोकिएको हुनपर्नेछ। कम्पनीले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र समितिलाई वार्षिक प्रतिवेदन पठाउनुपर्ने छ। साथै बीमकको वेवसाइटसम्बन्धी व्यवस्था, २०६५ खारेज गरिएको समितिले जनाएको छ।
निर्देशिकाका अनुसार डेटा सेन्टर तथा स्ट्यान्डवाई साइट वा विपद् पुनरुत्थान साइट कार्यान्वयन गर्नुपर्नेछ। डेटा, पावर तथा प्रणालीको व्याकअप, रिकभरी टाइम अब्जेक्टिभ र रिकभरी व्याइन्ट अब्जेक्टिभ, घटना व्यवस्थापन, डेटा सेन्टर तथा प्रकोप व्यवस्थापनमा भएको सूचनाको कारोबार तथा तथ्यांकको पूर्णताको सम्बन्धमा, सूचनाको सुरक्षा सम्बन्धलाई समितिले जोड दिएको निर्देशिकामा उल्लेख छ।