शेयर बजारमा रेकर्ड नै रेकर्ड


काठमाडौ, (नेस)
साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उछाल कायमै देखिएको छ। बुधबार ५१ अंकले बढेको नेप्से परिसूचक बिहीबार ३६ अंकले बढेको छ। नेप्से परिसूचक ३६ दशमलव शून्य ५ अंकले बढेर १६३२ दशमलव १७ बिन्दुमा पुगेको छ।
यस दिन शेयर कारोबार रकममा पुनः नयाँ रेकर्ड कायम भएको छ। ४ अर्ब १५ करोड रुपियाँको कारोबार भएर बुधबार कायम भएको रेकर्ड बिहीबार ४ अर्ब ४६ करोडको कारोबार भई नयाँ रेकर्ड कायम भएको हो।कारोबार रकममा मात्र नभई कारोबार संख्या र कारोबार भएको शेयर संख्यामा समेत नेप्सेले रेकर्ड तोडेको छ।
दिनभर भएका ३५ हजार ४ सय ६७ कारोबारबाट एक करोड ८ लाख ५९ हजार ६ सय कित्ता शेयर किनबेच भएर नयाँ रेकर्ड कायम भएको हो। यसअघि बुधबार ३२ हजार १ सय ५४ कारोबारबाट ९९ लाख ६ हजार ९ सय ८९ कित्ता शेयर किनबेच भएका थिए।
कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा देखिएको छ। यस कम्पनीको बिहीबार २८ करोड ९२ लाख रुपियाँभन्दा धेरै रकमको शेयर किनबेच भएको छ। कारोबार रकमका आधारमा दोस्रो नम्बरमा एनआईसी एसिया बैंक र एनएमबि बैंक देखिएको छ।
यस दिन सबैभन्दा बढी एभरेष्ट बैंकका शेयरधनीले १० प्रतिशतले कमाएका छन्। परिसूचक बढे पनि सबैभन्दा बढी गुमाउनेमा ङादी ग्रुप पावरका शेयरधनी छन्। उनीहरूले ६ दशमलव ७१ प्रतिशतले गुमाएका छन्।