माथिल्लो तामाकोसीबाट असारभित्र ७६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य


नेपाल समाचारपत्र, काठमाडौं ।
निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट अगामी असारभित्र कम्तिमा एउटा युनिटबाट (७६ मेगावाट) विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
पहिलो युनिबाट विद्युत् शुरु भएपछि बाँकी ५ युनिटबाट क्रमैसँग विद्युत् उत्पादन हुनेछ। आयोजनाको ठाडो सुरुङमा ३५५ मिटर पेनस्टक पाइप जडान भएको छ। पाइप जडानका लागि सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २२० मिटर र माथिल्लो ठाडो सुरुङमा १३५ मिटर पेनस्टक पाइप जडान भएको हो। अब तल्लो र माथिल्लो ठाडो सुरुङमा क्रमशः १४७ र १७१ मिटर पाइप जडान गर्न बाँकी छ।
कुनै प्राविधिक समस्या नआएमा वैशाखभित्र पाइप जडान भइसक्ने आयोजनाले बताएको छ। त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङका ेबीचमा रहेको तेर्सो भागमा पाइप जडान शुरु हुने र त्यसका लागि करिब डेढ महिना लाग्ने बताइएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले निर्माणस्थलको निरीक्षण गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीन वटै ठेकेदारसँग निर्माण सम्पन्न हुने कार्यतालिका बारेमा छलफल गर्नु भएको छ। ठेकेदार कम्पनीहरूले आफ्नो तालिकाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्।
घिसिङले आयोजनाको लट २ को ठकेदारले पनि विगतमा भन्दा काममा केही सुधार गरेको देखिएको बताउनुभयो।
पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ।
अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो। माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ।
माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठका अनुसार, सिभिल कार्यअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कंक्रिटिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ। मुख्य सुरुङमा जाने प्रवेश सुरुङमा गेट राख्ने तयारी भइरहेको छ।
विद्युत् गृहका सम्पूर्ण उपकरण जडान भई तयारी अवस्थामा रहेका छन्। प्रसारण लाइनको १२७ वटा टावर निर्माण र ४७ किलोमिटर टार टाङ्ने कार्य सम्पन्न भएको छ। रामेछापको खिम्तीमा निर्माण भइरहेको न्यू खिम्ती २२० केभी सबस्टेसनको सिभिलतर्फका काम अन्तिम चरणमा पुगेको छ। उपकरण जडान गरी चार महिनाभित्रमा सबस्टेसन सञ्चालनमा ल्याउन लक्ष्यका साथ काम भइरहेको छ।