दिल्ली हिंसामा मर्नेको संख्या ३४ न्यायाधीशको रातारात सरुवा

0
Shares

नयाँदिल्ली, (एजेन्सी) ।
भारतको राजधानी दिल्लीमा भइरहेको हिंसामा मर्नेको संख्या ३४ पुगेको छ। स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै पीटीआईले उक्त संख्या पुष्टि गरेको हो।
यसबीच प्रमुख प्रतिपक्षी पार्टी सोनिया गान्धीको नेतृत्वमा कांग्रेसका प्रतिनिधिमन्डलले बिहीबार राष्ट्रपति रामनाथ कोविन्दसँग भेटर एक ज्ञापनपत्र बुझाएको छ। राष्ट्रपतिलाई बुझाएको ज्ञापनपत्रमा कांग्रेसले दिल्लीमा भएको हिंसामा कयौंको ज्यान गएको र घाइते भएको उल्लेख गरेको छ।
दंगामा करोडौं रुपियाँको सम्पत्ती नोक्सान भएको र दिल्लीको नयाँ सरकार र केन्द्र सरकार दिल्लीमा भएका हिंसा र लुटपाट रोक्न असफल भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
नागरिकको जनधनको रक्षा र उनीहरुको अधिकारको रक्षा राष्ट्रपतिको राजधर्म भएको उल्लेख गर्दै यसको पालना गर्दै राष्ट्रपतिले निर्णायक कदम उठाउने अपेक्षा गरेको उनीहरुले बताए।
राष्ट्र संघबाट दुःख व्यक्त
संयुक्त राष्ट्रका महासचिवका प्रवक्ता स्टिफन डुजारिकले भारतको राजधानीमा भइरहेको प्रदर्शनपछि त्यहाँबाट आएको समाचार दुखित बनाउने खालको भएको बताए। बिहीबार डुजारिकले दिल्लीमा तनाव र हत्याको समाचारले महासचिव अत्यन्त दुखी भएको र उनले स्थितिलाई ध्यानमा राखी संयम् अपनाउन र कुनै प्रकारका हिंसाबाट बच्न आवश्यक भएको बताए।
विगत ४ दिनदेखि दिल्लीको उत्तरपूर्वी इलाकामा जारी हिंसामा सयांै जना घाइते भएका छन्। दिल्लीको गुरु तेगबहादुर अस्पताल (जीटीबी अस्पताल) मा मात्रै ३० जनाको मृत्यु भएको छ भने लोकनायक जयप्रकाश नारायण अस्पताल (एलएनजेपी अस्पताल) मा दुईको मृत्यु भएको छ।
बुधबार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले बुधबार हिंसाग्रस्त इलाकाको भ्रमण गरे र स्थानीयसँग भेटे। डोभालले घटनामा गृहमन्त्री अमित शाह र कपिल मिश्रा जिम्मेवार रहेको बताइरहेका एक मुस्लिमलाई बोल्न रोकेका थिए।
राहुलको ट्विट
यसैबीच कांग्रेस नेता राहुल गान्धीले ४ दिनपछि ट्विट गरेको छ। ट्विटमा उनले न्यायाधीश लोया र उनको बहादुरीको स्मरण गरेका छन्। राहुल गान्धीले ट्विटमा लेखेका छन्– ‘आजको दिन म बहादुर न्यायाधीश लोयालाई सम्झिरहेको छु जसलाई ट्रान्सफर गरिएको छैन। न्यायाधीश बीएच लोया गुजरातको रोहराबुद्दिन फर्जी मुठभेडको जाँच गरिरहेका थिए। उनको मृत्यु नागपुरमा ह्दयाघातबाट भएको थियो। त्यतिबेला उनी एक सहयोगीकी छोरीको विवाहमा सहभागी हुन नागपुरमा गएका थिए।
बुधबार दिल्ली हिंसा मामिलाको सुनुवाइ गरिरहेका दिल्ली उच्च अदालतका न्यायाधीश एस मुरलिधरलाई सुनुवाइ लगत्तै सरुवा गरिएको छ। उनले राति नै आफ्नो निवासमा सुनवाइ गरी घाइतेहरुको उपचार र सुरक्षाका लागि आदेश दिएका थिए। नेताहरुको भडकाउपूर्ण बयानमा प्रहरीले कुनै कारबाही नगरेको विषयमा दर्ता भएको एक याचिकाको सुनवाइका क्रममा न्यायाधीश मुरलीधरले केन्द्र सरकार र दिल्ली प्रहरीमाथि कडा रूपमा प्रस्तुत भएका थिए।
भाजपाका तीन नेता अनुराग ठाकुर, परवेश वर्मा र कपिल मिश्रामाथि एफआईआर दर्ता हुनुपर्ने बताएका थिए। यसअघि सोनिया गान्धीले दिल्ली हिंसालाई लिएर एक प्रेस सम्मेलनमा गृहमन्त्री अमित शाहको राजीनामा मागेकी थिइन्।