पार्क बनाउन गाउँपालिकालाई ३३ रोपनी जग्गा

0
Shares

चिरञ्जीवी मास्के, दोलखा ।
च्यामाका चन्द्रबहादुर फुयाललगायत १५ जनाको सोचाइ आमनागरिकको भन्दा पृथक छ। गाउँको विकासमा स्थानीय सरकार जतिकै स्थानीय नागरिकको पनि दायित्व हुन्छ चन्द्रबहादुरले भन्नुभयो– ‘त्यसैले हामीले ३३ रोपनी जग्गा गाउँपालिकालाई दिएका छौं।’
दोलखा तामाकोसी गाउँपालिका–६ च्यामा घोरनागीमा गाउँपालिकाले भ्युटावर, पोखरी र पिकनिक स्थान बनाउने भएपछि च्यामाका चन्द्रबहादुरलगायत १५ जनाले आफ्ना पुर्खा परमानन्द फुयालको नामबाट आफूहरूको नाममा आएको उक्त जग्गा गाउँपालिकालाई दिएका हुन्।
‘स्थानीय सरकार मात्र सबै थोक होइन्’, चन्द्रबहादुरले भन्नुभयो– ‘गाउँको विकासमा स्थानीय सरकारले योजना बनाएर नेतृत्व गर्छ भने स्थानीय नागरिकले पनि आफूले सक्ने सहयोग गर्नुपर्छ, अनि मात्र विकास सम्भव हुन्छ।’ कतै स्थानीय सरकारले चासो दिने र कतै स्थानीय तहले चासो नदिने भएकैले गाउँको विकास नभएको चन्द्रबहादुरको बुझाइ छ।
‘हामी गाउँको विकासका लागि स्थानीय सरकारसँग हातेमालो गर्न तयार छौं चन्द्रबहादुरले भन्नुभयो’– ‘त्यसैले पिकनिक स्थानका लागि जग्गा दिएका हौं।’ गाउँपालिकाको विकास योजनामा स्थानीय नागरिकले चासो दिएर महत्वपूर्ण जग्गा दान गर्नु विकासमा सकारात्मक सहयोग भएको अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताउनुभयो।
स्थानीय नागरिकको सहयोगमा गाउँपालिकाले पर्यटन, कृषिलगायत हरेक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने अध्यक्ष पोखरेलको भनाइ छ। तामाकोसी गाउँपालिका–६ मसिनाचौर र ऐरामेका स्थानीय कृष्णप्रसाद फुयाल (क), कृष्णप्रसाद फुयाल (ख), मयानाथ फुयाल (क), मयानाथ फुयाल (ख), डम्बर कुमारी फुयाल, भीमप्रसाद शर्मा, दुर्गाबहादुर फुयाल, चन्द्रबहादुर फुयाल, अर्घलाल फुयाललगायत १५ जनाले गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल र उपाध्यक्ष उर्मिला केसीको उपस्थितिमा अमिनले नापजाँच गरेअनुसार ३३ रोपनी जग्गा गाउँपालिकाको नाममा दिएका थिए।
स्थानीयले जग्गा दान गरेकोले अब कालिन्चोक, शैलुङ, गौरीशंकर हिमालजस्ता आकर्षक स्थलहरूको दृश्यावलोकन गर्न सकिने घोरनागीमा गाउँपालिकाले छिट्टै भ्यु टावर र पोखरीसहितको पिकनिक स्पोर्ट बनाउने अध्यक्ष पोखरेल बताउनुहुन्छ।