नेता मैनाली कार दुर्घटनामा गम्भीर चोट, अवस्था स्थिर

0
Shares

काठमाडौं, (नेस)

कार दुर्घटनामा सख्त घाइते पूर्वउप–प्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सिपी मैनालीको स्वास्थ्यस्थिति स्थिर रहेको अस्पतालले जनाएको छ।
झापाबाट काठमाडौं आउँदै गरेका मैनाली बिहीबार दिउँसो महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा दुर्घटनामा पर्नुभएको हो।

मैनालीको काठमाडौं, टोखास्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। मैनालीलाई नेपाली सेनाको हेलिकोप्टरबाट हिजै दिउँसो काठमाडौं ल्याइएको थियो।

अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेका अनुसार अहिले मैनालीको स्वास्थ्य स्थिति स्थिर रहेको छ। मैनालीको खुट्टाको हड्डी फ्याक्चर भएको छ भने छाती र पेटमा पनि चोट लागेको छ।

कारमा रहेका सिपी मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा ढुंगाना मैनाली, नाति पीएन मैनाली र कार चालक रामप्रसाद पौड्याल पनि घाइते हुनुहुन्छ।

बुहारी पूजाको दुबै खुट्टा फ्याक्चर रहेको र अरू सामान्य घाइते भएको जनाइएको छ।

झापाबाट काठमाडौं आउँदै गरेको बा ७ च २१२० नम्बरको उहाँको कार र ना ४ च ७६६८ नम्बरको पिकअप भ्यान एक–आपसमा ठोक्किएको इलाका प्रहरीले जनाएको छ।