भारतीयसँगै नेपालीको उद्धार

0
Shares

काठमाडौं, (नेस)

केही दिनदेखि जापानको सामुद्रिक तटमा ‘क्वारेन्टाइन’मा राखिएको एउटा पानी जहाजबाट एक नेपालीको पनि उद्धार गरिएको छ।

‘डायमन्ड प्रिन्सेस’ क्रुजसिपभित्र थुनिएका भारतीयलाई उद्धार गर्न गएको एयर इन्डियाको जहाजमा १ सय १९ जना भारतीय नागरिकका साथ ती नेपालीको पनि उद्धार गरी सोही टोलीमा नयाँ दिल्ली ल्याइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारतीय नागरिकका साथ दुई श्रीलंका, एक पेरु र एक साउथ अफ्रिकाका गरी पाँच गैरभारतीयलाई पनि उद्धार गरिएको भारतीय विदेश मन्त्री डा. एस जयशंकरले ट्वीटमार्फत सार्वजनिक गर्नुभएको छ।

डायमन्ड प्रिन्सेसबाट ल्याइएका व्यक्तिलाई हरियाणास्थित क्वारेन्टाइनमा राखिने भारतीय विदेश मन्त्रालयले जनाएको छ।
उद्धार गरिएका नेपालीको भने परिचय खुलाइएको छैन, भारतमै क्वारेन्टाइनमा राख्ने या नेपाल फर्कान्छ भन्नेबारे बताइएको छैन। यता स्वास्थ्य मन्त्रालयले पनि यस विषयमा बोल्न चाहेन।

डायमन्ड प्रिन्सेसभित्र रहेका ७ सय ४ जनालाई कोभिड–१९को संक्रमण देखिएको थियो। तीमध्ये ४ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो समय जापान र दक्षिण कोरियामा कोरोना भाइरस कोभिड–१९ बढेको छ। दक्षिण कोरियामा पनि ठूलो संख्यामा नेपाली कामदार रहेका र उनीहरूलाई सीधा काममा जान र कोठामा फर्कन अनुमति भएको तर बजारसम्म जान अनुमति नदिइएको नेपाली कामदारहरूले बताएका छन्।