मिश्र ‘फटाहा’ बाँस्कोटा ‘निर्दाेष’ : प्रम

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अडियो प्रकरणमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा निर्दाेष भएको बताउनुभएको छ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)द्वारा आयोजित बाग्मती प्रदेशस्तरीय प्रशिक्षणमा बोल्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो।

बाँस्कोटाले भ्रष्टाचार गरेकाले नभई प्रश्न उठेकाले राजीनामा दिएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘एउटा टेप प्रकरणमा कुनै मान्छेले अनधिकृत तवरले अडियो सार्वजनिक गरेको छ। तर केही प्रमाण छैन, सत्यता पुष्टि भएको छैन, स्विस एम्बेसीले पनि त्यो एजेन्ट होइन भनेको छ।’

आप्नोसमेत नाम जोडेर अख्तियारमा दिइएको उजुरी औचित्यहीन भएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले थप्नुभयो– ‘बाँस्कोटाले भ्रष्टाचार गरेकाले नभई प्रश्न उठेकाले राजीनामा दिनुभएको हो। अडियो सार्वजनिक गर्ने व्यक्ति विजय मिश्र फटाहा भएको पुष्टि भइसकेको छ। त्योसँग त डिल नै भएको छैन।

फ्रेन्च र जर्मन कम्पनीको प्रतिस्पर्धामा दुईटा सरकारहरूको डिल भएको छ, कुरा भएको छ। अनि अर्को स्वीस कम्पनीको एजेन्टसँगको वार्ता कहाँ भयो, जोसँग खरिदको प्रसंग नै छैन।’

पार्टी र सरकारलाई बदनाम गर्न र नेताहरूको चरित्रहत्या गर्न संगठित प्रयास भइरहेको उहाँको दाबी थियो।

सरकारले सुशासन र स्वच्छताको पक्षमा काम गरिहेको बताउँदै प्रधानमन्त्री ओलीले धारणा राख्नुभयो– ‘मैले भनेको छु, भ्रष्टाचार भेटियो भने देखियो भने अनुहार नहेरी कारबाही गर्छु, ऐया आत्था कसैले नगर्नुहोला। हामी सुशासनको पक्षमा छौं।’

स्मरणीय छ, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड कमिसन डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले पदबाट राजीनामा दिनुभएको थियो।