बायर्नद्वारा चेल्सी सहजै पराजित

0
Shares

लन्डन, (एजेन्सी)
यूइएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीलाई जर्मन क्लब बायर्न म्युनिखले सहजै हराएको छ।
मंगलबार राति भएको खेलमा चेल्सी आफ्नै घरेलु मैदानमा बायर्न म्युनिखसँग ३–० गोलअन्तरले पराजित भएको हो। बायर्नको जितमा सर्जी जिनाव्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे। बायर्नले घरेलु टोलीलाई खेलको शुरुआतदेखि नै दबाबमा राख्न सफल भएको थियो। पहिलो मिनेटमा नै थोमस मुलरको प्रहारलाई चेल्सीका गोलरक्षक वेल्फ्रेडो कावालेरोले मुस्किलले बचाएका थिए।
खेलमा एकपछि अर्को खतरानाक आक्रमणमा लगातार अवसर गुमाइरहेको बायर्नले ५१औं मिनेटमा गोल गर्न सफल भयो। सर्जी जिनाव्रीले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए। उनले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्न सफल भएका थिए। त्यसको तीन मिनेटपछि नै लेवान्डोस्कीको पासमै सर्जी जिनाव्रीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न सहज जिततर्फ अग्रसर बनेको थियो।
खेलको ७६औं मिनेटमा अघिल्लो दुई गोलमा असिस्ट दिएका रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको जित पक्का गरे। उनले अल्फोन्सोे डेभिसको पासमा गोल गर्न सफल भएका थिए। तीन गोल बेहारेको चेल्सीले ८३औं मिनेटमा अर्काे झट्का लाग्यो। रोबर्ट लेवान्डोस्कीमाथि खराब ट्याकल गरेपछि मार्काेस अलोन्सो सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटियो।
त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी ३–० ले निरीह बन्न पुग्यो। महत्त्वपूर्ण जितसँगै बायर्नले च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ। यी दुई टोलीबीच दोस्रो लिग बायर्नको मैदानमा १९ मार्चमा हुनेछ।
त्यस्तै, अर्को खेलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नेपोलीले १–१ गोल बराबरीमा चित्त बुझाएका छन्। दोस्रो हाफमा फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजम्यानले गोल गरेपछि बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत नेपोलीको मैदानमा भएको पहिलो लेगमा १–१ गोलको बराबरीमा रोकिएको हो।
नेपोलीले खेलको ३०औं मिनेटमा ड्रिज मर्टेन्सको गोलमार्फत अग्रता लिएको थियो। मर्टेन्सले १८ यार्ड टाढाबाट प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगनले बचाउने कुनै मौका पाएनन्। बार्सिलोनाले खेलको ५७औं मिनेटमा बराबरी गोल फर्कायो। नेल्सन सेमेडोको लो क्रसमा ग्रिजम्यानले पहिलो टचमा नै गोल गरेका थिए।
खेलको ८९औं मिनेटमा बार्सिलोना १० खेलाडीमा सीमित भयो। मिडफिल्डर आर्टुरो भिडालले एकै मिनेटमा दुई पहेंलो कार्ड पाएका थिए। फाबियन रुइजलाई फाउल गर्नेबित्तिकै भिडालले रुइजको मुहारमा टाउकोले धकेलेपछि रेफ्रीले भिडाललाई दोस्रो पहेँलो कार्ड देखाएका थिए। खेलको दोस्रो लिग १४ मार्चमा हुनेछ।