विस्तारै अघि बढ्दै सानिमा बैंक


नेपाल समाचारपत्र, काठमाडौं ।
गैरआवासीय नेपाली (एनआरएन) हरूद्वारा प्रवद्र्धन गरिएको सानिमा बैंक हो। सन् २००४ देखि राष्ट्रियस्तरको विकास बैंकको रूपमा सञ्चालनमा आएको भए पनि सन् २०१२ फेब्रुअरीदेखि भने यो बैंक ‘क’ वर्गमा स्तरोन्ती भई वाणिज्य बैंकका रूपमा सञ्चालन हुँदै आएको छ।
ग्राहक वर्गलाई एकद्वार वित्तीय सेवा प्रदान गर्न र नाफामा स्वस्थ वृद्धि गर्न प्रतिबद्ध रहने सानिमा बैंकको मान्यता छ। सानिमा बैंकले आफ्ना ग्राहकलाई ७९ वटा शाखा र २ वटा विस्तारित काउन्टरमार्फत सातवटै प्रदेशमा वित्तीय सेवा प्रदान गर्दै आएको छ। हाल बैंकमा विनयकुमार श्रेष्ठ सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूमा तुकप्रसाद पौडेल, गायत्री थापा, भरतकुमार पोखरेल, महेश घिमिरे रहेका छन्। नेपाल बैंकर्स एसोसिएसनका अध्यक्षसमेत रहेका भुवन दाहाल बंैकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ।
बैंकले मुना बचत, नारी बचत, एनआरएन बचत, रेमिट्यान्स बचत, सम्पन्न बचत, ज्येष्ठ नागरिक, होम बैंकिङ, सुलभ बचत, अमेरिकी डलर र विदेशी मुद्रा खाता, चल्ती खाता, विशेष चल्ती खाता मुद्दती निक्षेप, सानिमा नागरिक बचत, विशेष तलब खातालगायतका निक्षेप योजना ल्याएको छ।
त्यस्तै घर कर्जा, व्यक्तिगत कर्जा, होम इक्विटी कर्जा, शैक्षिक कर्जा, सवारी साधन कर्जा, ओभरड्राफ्ट कर्जा, स्वर्ण कर्जा, सोलार कर्जा, साना किसान कर्जा, ट्रयाक्टर तथा कृषि उपकरण कर्जा जस्ता कर्जा योजना रहेको छ। बैंकले भिसा डोमेस्टिक डेबिट कार्ड, भिसा डोमेस्टिक क्रेडिट कार्ड, भिसा डलर कार्ड, भिसा डलर क्रेडिट कार्ड जस्ता कार्ड ल्याएको छ। बैंकको सहायक कम्पनीमा सानिमा क्यापिटल रहेको छ।
सानिमा बैंकले एसबीए, बिल भुक्तानी, प्राथमिकता बैंकिङ, एबीबीएस बैंकिङ, आइएनआर ड्राफ्ट, संस्थाको शुल्क संकलन, सेफ डिपोजिट लकरजस्ता सुविधा ल्याएको छ। सानिमा बैंकले छिट्टै ४ अर्ब रुपियाँबराबरको ऋणपत्र बिक्री गर्ने तयारी गरेको छ। कम्पनीले प्रतिइकाई १ हजार रुपियाँको दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो। यसमध्ये १६ लाख इकाई सर्वसाधारणका र बाँकी २४ लाख इकाई संघसंस्थालाई बिक्री गर्नेछ। यस ऋणपत्रमा वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर रहेको छ।
इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ।यसअघि पनि बैंकले २ अर्ब रुपियाँको ऋणपत्र बिक्रीमा ल्याएको थियो। कृषि, ऊर्जा, पूर्वाधारलगायतका क्षेत्रमा लगानी केन्द्रित गरेको बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रुपियाँपुगेको छ। चालू आर्थिक वर्षको दोस्रो त्रयमाससम्म आइपुग्दा सानिमा बैंकले १ अर्ब १४ करोड ७४ लाख ६५ हजार रुपियाँखुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १६ दशमलव ८३ प्रतिशत बढेको छ।
गत आर्थिक वर्षभरीमा सानिमा बैंकले २ अर्ब २४ करोड ३३ लाख रुपियाँखुद नाफा कमाएको थियो। पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९५ करोड ९ लाख २२ हजार रुपियाँपुगेको छ। सानिमा बैंकको गत वर्षको नाफाबाट लगानीकर्तालाई यसपटक २१ दशमलव शून्य ५२ प्रतिशत लाभांश वितरण गरेको छ।
जसमा ११ दशमलव शून्य ५२ प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर दिएको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा बैंकले ९९ अर्ब ३० करोड रुपियाँभन्दा बढी निक्षेप संकलन गरी ८८ अर्ब ७१ करोड रुपियाँभन्दा बढी कर्जा लगानी गरेको छ। हाल बैंकको प्रतिशेयर आम्दानी २६ रुपियाँ१५ पैसा रहेको छ।
यो गत वर्षभन्दा १ रुपियाँ५३ पैसाले बढेको हो। त्यस्तै प्रतिशेयर नेटवर्थ १३९ रुपियाँशून्य ६ पैसा छ। बैंकको खराब कर्जा शून्य दशमलव ४१ प्रतिशत रहेको छ भने कस्ट अफ फन्ड ७ दशमलव ३३ प्रतिशत रहेको छ।