वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी

0
Shares

काठमाडौं, (नेस)

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गर्नुभएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उहाँले सो घोषणा गर्नुभएको हो।

महासंघको नेतृत्वमा आउन दबाब आइरहेकाले उम्मेदवारी दिने निर्णय गरेको ढकालले दाबी गर्दै भन्नुभयो– ‘महासंघको विभिन्न कार्यक्रमका सिलसिलामा देशभर घुम्दा व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरूले नेतृत्वमा आउन आग्रह गरेकाले दाबेदारी प्रस्तुत गरेको हुँ।’

उक्त कार्यक्रममा उहाँले देशमा औद्योगिक वातावरण निर्माण गर्न, विदेशी लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन र निजी क्षेत्रको सिर्जनात्मक भूमिका बढाएर व्यावसायिक हकहित र अधिकारका लागि सरकारसँग लबिङ गर्न आफूले उम्मेदवारी दिएको प्रस्ट पार्नुभयो।

ढकालले तीनखम्बे अर्थ नीतिको प्रमुख खम्बाका रूपमा रहेको निजी क्षेत्रलाई सबैभन्दा सशक्त सबल खम्बाको रूपमा स्थापित गर्न, तीव्र आर्थिक विकास र सुशासनसहितको उत्तरदायी राज्य व्यवस्थामा सघाउन उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा रहेर पैरवी गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

उम्मेदवारी घोषणा समारोहमा पूर्वअध्यक्षहरू सुरज वैद्य, चण्डिराज ढकाल र महासंघका सातमध्ये ५ वटा प्रदेशका अध्यक्ष सहभागी हुनुहुन्थ्यो।