अन्तिममा आरसीटी रोकियो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
जारी शहीद स्मारक बी डिभिजन लिग फुटबलअन्तर्गत् मंगलबारको खेलमा आरसीटीले अन्तिममा सम्हालिन नसक्दा बराबरी खेलेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आरसीटीलाई झम्सीखेल युवा क्लबले १–१ गोलको बराबरीमा रोकेको हो।
आरसीटीका कप्तान अमर डंगोलले २८औं मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए। तर १–० को अग्रता अन्तिममा जोगाउन नसक्दा आरसीटीले बी डिभिजनमा १ अंकले शुरुआत गर्न बाध्य भयो। दोस्रो हाफमा ७ मिनेट समय थपिएकोमा पहिलो मिनेटमा झम्सीखेलका अनीश चौधरीले गोल गरेका थिए।
आरसीटी गत संस्करणको बी डिभिजन लिगको विजेता हो। तर रेलिगेसन र बढुवाको प्रावधान नहुँदा आरसीटी ए डिभिजनमा उक्लिन पाएन।
यसअघिको खेलमा सातदोबाटो युवा क्लबले नयाँ वस्ती युवा क्लबलाई २–० ले हरायो। टोलीको जितमा दुबै गोल प्रवेश बस्नेतले दोस्रो हाफमा गरेका थिए। उनले ५९औं मिनेट र ८२औं मिनेटमा गोल गरेका थिए।