जथाभावी कार चलाउँदा ५२ घाइते

0
Shares

वर्लिन,(एजेन्सी)
पश्चिमी जर्मनीमा एउटा कार्निभलको आयोजनाको तयारी भइरहेको स्थानमा एउटा कारले किचेको घटनामा घाइते हुनेको संख्या ५२ पुगेको मंगलबार प्रहरीले जनाएको छ। सोमबार भएको त्यस घटनामा १८ जना बालबालिका रहेको तथा कुल ३५ जनाको अझै अस्पतालमा उपचार भइरहेको बताइएको छ।
फ्रान्कफर्टको महान्यायालयले जनाएअनुसार पीडितको उमेर २ देखि ८५ वर्ष रहेको छ। भोलकमार्सेन शहरमा आमनरसंहार प्रयास गरेको आरोपमा एकजना २९ वर्षीय जर्मन नागरिकलाई प्रहरीले गिरप्mतार गरेको छ। ती युवकको आक्रमणको उद्देश्य स्पष्ट हुन सकेको छैन।
हेस्से राज्यको उक्त शहरमा मंगलबार कार्निभल हुने कार्यक्रम रहेको थियो। सो कार्निभलका लागि थप सुरक्षा प्रबन्ध गरिने प्रहरीले जनाएको छ। प्रहरीले सो कार अक्रमण भइरहेको दृश्यको भिडियो खिच्न व्यस्त रहेको अवस्थामा अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ। प्रहरीले आमनागरिकलाई त्यस घटनाका तस्वीरहरू अनलाइनमा सेयर नगर्न अनुरोध गरिएको छ।
सामाजिक सञ्जालमा भाइरल भएको त्यस आक्रमणका कार चालकलाई पक्राउ गरिँदै गरेको भनिएको तस्वीरमा अर्कै व्यक्ति देखाइएपछि प्रहरीले यो सतर्कता अपनाएको हो। सरकारी अधिकारीहरूले टवीटरमा पोस्ट गरिएको सो तस्वीर नक्कली भएको जनाएको छ।
सोमबार रोज मन्डे उर्फ रोजेनमोनताग नामक महोत्सव आयोजना भइरहेका बेला अचानक सो कार आक्रमण भएको हो। रोज मन्डे जर्मनी, अस्ट्रिया, बेल्जियम र स्वीजरल्यान्डका केही भागमा मनाउने गरिन्छ। प्रत्यक्षदर्शीहरूले चाँदी रंगको सो मर्सिडिजकारका चालकले एक्सिलेटर थिचेर विशेषगरी बालबालिकालाई लक्षित गरेर किच्न खोजेको प्रहरीलाई बताएका छन्। बिल्ड अखबारले त्यस हमलामा राजनीतिक उद्देश्य नदेखिएको जनाएको छ।