चीनको उहानमा केही समयका लागि क्वारेन्टाइन हटाइयो

0
Shares

तेहरान,(एजेन्सी) ।

इरानको उप–स्वास्थ्य मन्त्रीले सोमबार कोरोना भाइरस (उर्फ कोभिड–१९) संक्रमणका कारण मर्नेको संख्या १२ पुगेपछि संक्रमणका तथ्यहरू ढाकछोप नगरिएको बताएका छन्।

इरानको मध्यभारगस्थित शहर कोमका एकजना विधायकले सरकारले उक्त भाइरसको विस्तृत समस्याबारे सरकारले ढाँटेको आरोप लगाएका छन्। अहमद अमिरावादी फराहानी नामक ती विधायकले कोममा मात्रै संक्रमणका कारण मारिनेको संख्या ५० पुगिसकेको दाबी गरेका छन्। तर, राजधानी तेहरानमा आयोजित पत्रकार सममेलनमा मन्त्री इराज हारिर्चीले भनेका छन्– ‘यदि, मृतकको संख्या २५ मात्र भएको प्रमाणित गर्न सकिएको खण्डमा म पदबाटै राजीनामा दिन्छु।

कोरोना भाइरस अन्तर्राष्ट्रिय समस्या भइरहेको वर्तमान अवस्थामा अनावश्यक राजनीति गरिरहनु हुँदैन। तर, मन्त्रीको दाबीलाई अस्वीकार गर्दै विधायक फराहानीले आफूले हालसम्म संक्रमणबाट मरिसकेका ४० जनाको नामै लेखेर दिइसकेकाले अब आफू मन्त्रीको राजीनामाको प्रतीक्षामा रहेको इल्ना समाचार निकायलाई बताएका छन्।

गतसाता यता इरानमा कम्तीमा ६१ जनालाई कोभिड–१९ संक्रमण भइसेको बताइएको छ। तीमध्ये ३४ जना कोम शहरकै रहेका छन्। यसैबीच सोमबार पहिलो चोटि कोरोना भाइरस देखिने मध्यपूर्वका राष्ट्रहरू कुवेत, बहराइन र इराक देखिएका छन्।

यता इटालीमा नयाँ कोरोना भाइरसको संक्रमणबाट सोमबारसम्ममा ४ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले दाबी गरेका छन्। उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लोपटक १ जना ८४ वर्षीय वृद्धको कोरोनाकै संक्रमणबाट मृत्यु भएको हो।

इटालीको लोम्बार्डीमै यस अघि अरू ३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको बताइएको छ। संक्रमण नियन्त्रण तथा रोकथामका लागि इटालीयन सरकारले पूरै गाउँ बस्तीलाई अलग्याएर सुरक्षा व्यवस्था कडा बनाएको छ।

इटालीको नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेल्लीले देशभरि आइतबारसम्ममा १ सय ५० जनाभन्दा बढीलाई कोरोना संक्रमण देखिएको बताएका छन्। युरोपमै इटालीमा सबैभन्दा बढी कोरोना संक्रमित व्यक्ति देखिएका छन्।

लोम्बार्डीका १० वटा तथा छिमेकी भेनिटो शहर गाउँलाई अन्य क्षेत्रबाट अलग्याइएको छ र झन्डै ५० हजार मानिसलाई अन्यत्र जान दिइएको छैन। साथै, स्थानीय अधिकारीहरूले बारहरू, रेस्टुराँ र डिस्को बन्द गर्न आदेश दिएका छन्।

हालसम्म कोरोना भाइरसकै कारण मिलान फेसन सप्ताह, भेनिस कार्निभल र सिरि ए फुटबल खेलहरू स्थगित गरिएका छन्। मिलानको निकै लोकप्रिय ‘ला स्काला’ मा सञ्चालित ओपेराहरू पनि रद्द गरिएका छन्।

यसैगरी, कोरोना भाइरसको पहलो शुरुआत भएको भनिएको चीनको हुवेई प्रान्तको उहान शहरमा सोमबार पहिलोपटक १ करोड १० लाख जनतामाथिको कडा क्वारेन्टाइन हटाइएको छ।

तर, समस्या अनियन्त्रित हुने देखिएकाले स्थानीय प्रशासनले तत्कालै पुनः कडा क्वारेन्टाइनलाई निरन्तरता दिएको छ। उहान प्रशासनले त्यहाँका बासिन्दालाई शहर छाडेर जाने अनुमति दिएको हो। तर, तिनीहरूलाई कुनै पनि गन्तव्यमा पुग्नासाथ क्वारेन्टाइनमा बस्नुपर्ने आदेश दिइएको छ। तर, केही घन्टापछि उक्त सकारी घोषणा फिर्ता लिइएको थियो।