सुनको भाउमा उच्च वृद्धि, बजार सुनसान

0
Shares

परिवर्तन देवकोटा, काठमाडौं ।

चीनबाट महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–२०१९)का कारण विश्व अर्थतन्त्र प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर सुन बजारमा देखा परेको छ। जसका कारण नेपाली बजारमा सुनको मूल्य उच्च वृद्धि भएको छ।

केही समययता सुनको मूल्यवृद्धि भई दिनहुँ नयाँ–नयाँ कीर्तिमान बनाउँदै गएको छ। सुनको मूल्यवृद्धि उच्च हुँदा व्यवसायी भने चिन्तित बनेका छन्। सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ८० हजार ३ सय रुपियाँमा कारोबार भएको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य १ हजार ५ सय रुपियाँले वृद्धि भएको हो। आइतबार सुन प्रतितोला ७८ हजार ८ सय रुपियाँमा कारोबार भएको थियो।

नेपाली बजारमा सुनको मूल्यवृद्धि भई नयाँँ इतिहास बनाएको छ। सुनको मूल्यमा भएको निरन्तरको वृद्धिका कारण सुन बजार सुनसान भएको व्यवसायीहरू बताउँछन्। नेपाली समाजमा फागुन महिना विवाहको हिसाबले महत्वपूर्ण मानिन्छ। विवाहको समयमा पनि सुन बिक्री नहुँदा पसल नै बन्द गरेर बस्नुपर्ने स्थिति आएको सुन व्यवसायीहरू बताउँछन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले सुनको मूल्यमा अत्याधिक वृद्धि भएकाले पसल नै बन्द गर्नुपर्ने स्थिति देखापरेको बताउनुभयो। उहाँले केही समयअघि दैनिक २० किलोग्रामसम्म सुन बिक्री हुँदै अहिले त्यो दर घटेर १० किलोग्राममा सीमित भएको बताउनुभयो।

शाक्यले मूल्य वृद्धिका कारण बजारमा सुनको माग नै नभएको सुनाउनुभयो। ‘पछिल्लो समय सुनमा मानिसको रूची नै छैन, बजार सुनसान छ, हामी चिन्तित छौं’–उहाँले भन्नुभयो–‘सुनको बिक्री नहुँदा पसल नै बन्द गर्नुपर्ने अवस्था छ।’

उहाँले बजारमा आइतबार सुन केही परिणाममा बिक्री भए पनि सोमबार ठप्पै भएको बताउनुभयो। सुनको मूल्यमा उच्च वृद्धि भएपछि व्यवसायीहरू निराश भएका छन्। सुनको मूल्य बढे पनि उपभोक्ताको क्रयशक्ति नबढेको भन्दै उहाँले यसो हुँदा सुनको माग हुन नसकेको स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो–‘बजारमा सुनको मूल्य बढेको बढ्यै छ, सुन किन्न उपभोक्ता आउनैै छाडे, व्यवसायीलाई घर खर्च चलाउन पनि धौं–धौं पर्न थालेको छ, अब के गर्ने ?’

सोमबार बजारमा छिटफुट मात्र कारोबार भएको उहाँले सुनाउनुभयो। उहाँका अनुसार केही दिनअघि मात्रै १० किलोग्रामभन्दा बढी कारोबार भए पनि अहिले भने १० किलोग्रामसम्म मात्रै बिक्री भएको बताउनुभयो।

पछिल्लो समय सुन बजार आकाशिनुको मुख्य कारण कोरोना भाइरस नै हो। व्यवसायी शाक्यले भन्नुभयो–‘महामारीका कारण विश्वका जनता सुन किन्नमा भन्दा पनि आफ्नो स्वास्थ्यको सुरक्षा गर्नतर्फ लागेका छन्। यसो हुँदा सुनको मूल्य बढ्न गएको छ।

उहाँका अनुसार विदेशी बजारमा सुनमा लगानी गर्न व्यवसायीहरू आकर्षित भएको उहाँले सुनाउनुभयो। विदेशी बजारमा सुनको मूल्य अत्याधिक बढेको छ। केही दिनअघि मात्रै विदेशी बजारमा सुनको भाउ १६ सय डलरभन्दा कम रहेको थियो।

तर, केही दिनमै त्यो मूल्य बढ्न १६ सय ६१० डलरको हाराहारीमा पुगेको छ। सोमबार बिहानमात्रै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १६ सय ६१ डलर पुगेको छ। विदेशी बजारमा नै यसरी मूल्य बढेपछि नेपाली बजारमा स्वतः बढ्न जाने उहाँको भनाइ छ।

नेपाली बजारमा वर्ष २०७६ समग्रमा राम्रो देखिन सकेको अवस्था छैन। विश्वका ठूला मुलुकबीचको निरन्तरको तनाव, युद्ध तथा राजनीतिक अस्थिरताका कारण विश्व बजारमा नै सुनको मूल्य अस्थिर बनेपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखा पर्यो।

मध्यपूर्वी मुलुकहरू अमेरिका र इरानबीचको तनाव, अमेरिका र चीनबीचको व्यापार युद्ध तथा भारतको कास्मिरमा भएको राजनैतिक तनावका कारण सुन बजारमा प्रत्यक्ष असर गर्यो।

‘पछिल्लो समय बजार सकारात्मक हुँदै थियो, फेरि कोरोना भाइरसले प्रभावित पार्यो’ शाक्यले भन्नुभयो–‘अझै केही समय सुन बजार सुध्रने संकेत छैन।’ सुन बजारमा महंँगिदा नेपाली बजारमा व्यवसायी चरम निराशामा परेका छन् भने उपभोक्ता पनि मर्कामा परेका छन्।