हिन्दू धर्म–संस्कृतिसम्बन्धी अन्तर्राष्ट्रिय महासम्मेलन हुने

0
Shares

तनहुँ, (नेस) ।
चार वेद, अठार पुराणका रचयिता भगवान् महर्षि वेदव्यासको जन्मभूमि दमौलीमा सनातन हिन्दू धर्म–संस्कृति विषयक अन्तर्राष्ट्रिय महासम्मेलन हुने भएको छ। विश्व हिन्दू महासंघ नेपालको आयोजनामा आगामी चैत १ देखि ४ गतेसम्म दमौलीमा अन्तर्राष्ट्रिय महासम्मेलन गरिने भएको हो।
विश्व हिन्दू महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीले विश्वको प्राचीनतम वाङ्मय वेदको प्राकट्य भूमि तनहुँ दमौलीलाई सनातन धर्म संस्कृतिको अन्तर्राष्ट्रिय केन्द्र बनाउँदै गोरक्ष राष्ट्र नेपालको ऐतिहासिक परिचयलाई विश्वव्यापी बनाउने उद्देश्यले महासम्मेलन आयोजना गरिनलागेको बताउनुभयो।
महासम्मेलनमार्फत धार्मिक पर्यटनको विकास गर्न टेवा पुग्ने अधिकारीले अपेक्षा लिनुभएको छ। अध्यक्ष अधिकारीले महासम्मेलनले नेपाललाई हिन्दू धर्मलम्बीको अन्तर्राष्ट्रिय तीर्थस्थलका रूपमा पहिचान गराउन मद्दत पुग्ने विश्वास लिनुभएको छ।
वेद नै सनातनी हिन्दूको मूल सहग्रन्थ भएको जनाउँदै विश्व हिन्दू महासंघ ओमकार परिवारका मुख्य मान्यतालाई रक्षा गर्न प्रतिबद्ध रहेको जनाइएको छ।
‘करुणा र वीरताको अभिन्नतामा रम्नु सनातनी हिन्दूको प्रमुख विशेषता हो, यिनै आस्था, विश्वास, मूल्य–मान्यता र आदर्शलाई विश्व हिन्दू महासंघले हृदयमा धारण गरिरहेको छ, गरिरहनेछ।’ –उहाँले भन्नुभयो।
महासम्मेलनले भ्रमण वर्ष–२०२० लाई समेत टेवा पुग्ने आयोजकको दाबी छ। सम्मेलनमा २४ राष्ट्रले सहभागिता जनाउने महासंघले जनाएको छ। महासम्मेलनअन्तर्गत चैत १ गते खुला धर्मसभा हुने र सो सभामा १ लाख धर्मलम्बी उतारिने विश्व हिन्दू महासंघको तयारी छ।