ज्योति मगरको नाचले तात्यो महोत्सव


विमल विष्ट, डोटी ।

गायिका तथा हट डान्सर ज्योति मगरले दिपायलको पिपल्लामा शुरू भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा शनिबार आफ्ना गीत गाएर तथा डान्स गरेर दर्शकलाई भरपुर मनोरञ्जन दिलाएकी छिन्। हट डान्सरका रूपले चर्चित गायिका ज्योतिले महोत्सवमा आएका युवा, युवती तथा महिला बृद्धहरूलाई समेत नचाएकी थिइन्।

ज्योतिले गीत गाउन शुरू गरेपछि महोत्सवको माहोल एकाएक तातिएको थियो। ज्योतिका गीतभन्दा पनि उनको अभिनय तथा ड्रेसअपका कारण पनि दर्शक अरू दिनभन्दा पनि बढी शनिबार ओइरिएका थिए ज्योतिका गीत सुन्न तथा डान्स हेर्न जिल्लाका प्रमुख व्यक्तिदेखि सामान्यस्तरका मानिससमेत महोत्सवमा सहभागी थिए। जतिजति मानिसको भिड लाग्न थाल्यो, ज्योतिले त्यति नै दर्शक लोभ्याउने खालका गीत गाउनुका साथै नृत्य गरेकी थिइन्। भिड नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हम्मेहम्मे भएको थियो।

माहोल तताउन ज्योतिले आफ्ना पुराना तथा नयाँ गीतहरूका साथै ¥याप र गजलसमेत प्रस्तुत गरेकी थिइन्। आयोजक संस्था डोटी चेम्बर अफ कमर्सले महोत्सवमा चर्चित गायक र कलाकारहरू भित्र्याउन थालेपछि महोत्सव अवलोकन गर्न आउने दर्शक पनि दिनानुदिन बढिरहेका छन्।

महोत्सवको अवलोकन गर्न स्थानीयलगायत जिल्लाबाहिरका व्यक्तिको भिड बढ्न थालेसँगै यहाँको व्यापार व्यवसाय पनि फष्टाउन थालेको दिपायल पिपल्लाका स्थानीय व्यापारी खेमबहादुर विष्टले बताए। महोत्सव १३ गतेसम्म सञ्चालन हुने चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउदले बताए।