नेपाली सोसाइटी यूकेको कार्यशाला गोष्ठी सम्पन्न

‘सँगै मिलेर काम गर्नुको विकल्प छैन’

0
Shares

नेपाल समाचारपत्र, लन्डन ।

सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स, यूकेले दक्षिणपूर्वी लन्डनको फालकोनवुड सामुदायिक भवन वेलिङमा आप्नो महत्वपूर्ण कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।

बेलायतमा बस्ने सिनियर नेपाली नागरिकलाई कसरी सफल व्यवस्थापन गर्न सकिन्छ भन्ने शीर्षकमा सोसाइटीले विभिन्न संघ-संस्था र बुद्धिजीवीसँग राय मागेको हो।

निर्धारित समयमा शुरू भएको कार्यक्रममा यूसीएल बेलायतका प्रोफेसर डा. तेजेन्द्र फेराली र अर्का बुद्धिजीवी नारायण भट्टराईले सिनियर नागरिकका समस्या र अप्ठ्यारा चुनौतीका बारेमा खोजमूलक लेख नै प्रस्तुत गरेका थिए।

संस्थाका छैटौं अध्यक्ष शेखर वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरि थापा, मदन थापा, लेखक गोविन्द बेलबासे, सुशीला कार्की, निकिता खरेललगायतले बेलायत बसाइँमा भोग्नुपरेका तीतामीठा अनुभव साटेका थिए।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू, कार्यसमिति सदस्यहरू, एनआरएनए महासचिव फणीन्द्र भट्टराई, नेपाल प्रेस युनियन युरोपका संयोजक सञ्जयभक्त कँडेल, चाल्टन समाजका अध्यक्ष कृष्ण खरेललगायतको विशेष उपस्थिति थियो।

सिनियर नेपाली नागरिकले यूकेमा प्राप्त गर्ने सामाजिक, स्वास्थ्य र आर्थिक सुरक्षाका बाबजुद पनि उमेर, भाषा, हावापानीका कारण वृद्ध अवस्था चुनौतीपूर्ण नै छ।

घरपरिवारबाट टाढा, एक्लोपन, फरक धर्म अनि चालचलन रहनशैली र ट्राफिक नियम आदिले यो समयलाई थप जटिलता थपिदिएको छ।
भेलामा यस्ता जटिलतालाई व्यवस्थापन गर्न एनआरएनएलगायत बेलायतस्थित विभिन्न निकाय र सामाजिक संघ-संस्थाले सँगै काम गर्नुको विकल्प नभएको संस्थाका अध्यक्ष शेखर वाग्लेले प्रस्ट पार्नुभएको थियो।

सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स, यूकेको स्थापना सन् २००८ मा भएको हो। हाई स्किल मेनपावरका रूपमा बेलायत भित्रिएका बुद्धिजीवीहरूले स्थापना गरेको यो संस्थाले नेपाली डायस्पोरा बेलायतमा सम्मानजनक स्थान लिएको छ।

अर्थपूर्ण र जानकारीमूलक कार्यक्रम गर्दै आएको यस संस्थामा उच्च सीप हुनेहरूले स्वः स्फूर्त रूपमा सदस्य पाउने व्यवस्था गरिएको छ।