पुस्तक आयातमा कर हटाउन माग

0
Shares

काठमाडौं, (नेस) । 

पुस्तक आयातमा सरकारले लगाएको कर हटाउन माग गर्दै त्रिभुवन विश्वविद्यालयले प्रधानमन्त्रीसहित दुई मन्त्रीलाई बोधार्थ दिइएको छ। उपकुलपति प्राडा. धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयका कुलपति, सहकुलपति र अर्थमन्त्रीलाई सम्बोधन गरेको पत्रमा पुस्तकमा कर लगाउने सरकारको निर्णय पुनरावलोकन गर्न आग्रह गरिएको छ।

विश्वविद्यालयका अधिकांश पाठ्यपुस्तक विदेशबाट आयात हुन्छन्। कर लगाइएपछि विद्यालय तहदेखि उच्च शिक्षाको पाठ्यपुस्तकको अभाव भएको बिक्रेताहरूले बताउँदै आएका छन्। उच्च शिक्षाका प्राविधिकधारका अधिकांश पुस्तक विदेशबाटै आयात हुने गर्छन्।

तर, सरकारले चालू आर्थिक वर्षको बजेटबाट विदेशमा मुद्रण भई देशमा आयात हुने पुस्तकमा १० प्रतिशत भन्सार महसुल लगाउन थालेपछि विदेशी पाठ्यपुस्तक सजिलै नपाउने र पाइहाल्यो भने पनि महँगो हुने भन्दै विद्धत् वर्गसहित विद्यार्थीले गुनासो गर्दै आएका छन्।

विश्वविद्यालयको पाठ्यक्रमसँग सम्बन्धित केही पुस्तकहरू मात्र नेपालमा पाइने भएको कारणले विद्यार्थी र शिक्षकहरूलाई विदेशमा प्रकाशित पुस्तकमा भर पर्नुपर्ने बाध्यता रहेको जानकारी गराउँदै लेखिएको पत्रमा ती पुस्तकहरूमा थप कर लागेपछि पुस्तकहरू महँगो हुने र त्यसले विद्यार्थी तथा शिक्षकहरूको पठनपाठनमा असर पर्ने हुनाले पुस्तकमा कर लगाउने विषयमा पुनरावलोकन गरिदिन आग्रह गरिएको छ।