उर्लियो शेयर बजार: एकै दिन ६९ अंकको वृद्धि, ३६० करोडको कारोबार


परिवर्तन देवकोटा, काठमाडौं ।

पछिल्ला केही दिनमा धितोपत्र बोर्डमा शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनकरूपमा वृद्धि देखिएको छ। विगत तीन वर्षदेखि निरन्तर खस्किरहेको शेयर बजार सुधारको लयमा आएपछि लगानीकर्ता उत्साहित बनेका छन्।

साताको शुरुआती दिन आइतबार शेयर बजारमा अहिलेसम्मकै उच्च अंकको वृद्धि भएको छ भने कारोबार रकम पनि अहिलेसम्मकै उच्च भएको छ। हिजो आइतबार नेप्से परिसूचक ६९ दशमलव ५६ अंकले बढ्दै १५०४ दशमलव १४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक १७ दशमलव शून्य ७ अंकको वृद्धि हुँदै ३१७ दशमलव ५० बिन्दुमा पुगेको छ।

कुल १ सय ७८ कम्पनीको ८७ लाख ६९ हजार ५ सय २२ कित्ता शेयर ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३ सय ५४ रुपियाँमा खरिद–बिक्री भएका छन्। सबैभन्दा बढी जीवन बीमा कम्पनी १९२ अंकले बढेको छ। निर्जीवन बीमा कम्पनी १४० र बैंकिङ ८६ अंकले बढेको छ। विकास बैंक ८५ र लघुवित्त ५५ अंकले उक्लिएको छ।

पछिल्लो समयको राजनीतिक घटनाक्रमका कारण लगानीकर्तामा उच्च मनोबल बढेको विश्लेषकको बुझाइ छ। अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमनको हल्लाले पनि लगानीकर्तामा मनोबल बढ्न थालेको विश्लेषकहरू बताउँछन्। शेयर बजारले विस्तारै लय समातेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट बताउनुहुन्छ।

उहाँले बैंकिङप्रति लगानीकर्ताको आकर्षण बढेको बताउँदै यसले सकारात्मक सन्देश दिन खोजेको बताउनुभयो। यस्तै शेयरको अनलाइन कारोबारले पनि बजारको उकालो यात्रालाई थप हौसला दिएको उहाँले उल्लेख गर्नुभयो। नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले भन्नुभयो– ‘शेयर बजारले लय समातिसकेको अवस्था हो यो, अब बढ्ने नै हो घट्नेतर्फ लाग्दैन।’ कुनै कम्पनीमाथि चलखेल भए पनि अब बजारमा असर नपर्ने उहाँको बुझाइ छ।

यस्तै, हाथ वे इन्भेस्टमेन्ट प्रालिका सञ्चालक अम्बिकाप्रसाद पौडेलले लामो समयदेखि निरन्तर घटिरहेको बजार अब सकारात्मक दिशामा आइपुगेको बताउनुभयो। उहाँले पछिल्लो समय तरलतामा सुधार हुनु तथा कर्जामा सहजता हुनु नै बजार बढ्नुको प्रमुख कारण भएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो– ‘लामो समयदेखि बजार घटिरहेको थियो, अब लगानीकर्ताको मनोबल बढेको छ, बजार लयमा आउँदै छ।’

‘अन्य क्षेत्रमा लगानी रोकिएको अवस्था छ। लगानीकर्ता शेयर बजारमा आकर्षित छन्। त्यसै कारण पनि शेयर बजार अब सकारात्मक दिशामा अघि बढेको अवस्था छ।’ –उहाँले भन्नुभयो।

शेयर बजारका प्राविधिक विश्लेषक सन्दिल श्रेष्ठ बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेसँगै शेयर बजारमा माहोल तातेको बताउनुहुन्छ। उहाँले अर्थमन्त्री डा. युवराज खतिवडाले छाड्ने हल्ला चलेसँगै बजारमा सुधार आएको बताउनुभयो। उहाँका अनुसार अर्थमन्त्री बदलिने हल्ला चलेसँगै लगानीकर्ता एकदम हौसिएका हुन्। त्यसैको फलस्वरूप बजार बढेको हो।

यस्तै चीनबाट महामारीका रूपमा नोबेल कोरोना भाइरस ‘कोभिड–२०१९’ फैलिएसँगै व्यापार गर्नेहरूको मनस्थिति शेयर बजारतर्फ रूपान्तरण भएको उहाँले बताउनुभयो।

व्यापार गरिरहेकाहरू पनि शेयर बजारमा लगानी गर्न आउँदा बजारमा वृद्धि भएको उहाँले सुनाउनुभयो। यस्तै, पछिल्लो समय काठमाडौं उपत्यकाबाहिरबाट नै शेयर कारोबार गर्नेहरू ५० प्रतिशतभन्दा बढी रहेकाले पनि बजारमा उनीहरूको उपस्थिति देखिएको सुनाउनुभयो।

पछिल्लो समय घरजग्गामा लगानीकर्ताको रूचि नदेखिएको सुनाउँदै उहाँले शेयर बजारमा लगानी गर्न बैंकहरूले पनि सहज रूपमा कर्जा दिएको बताउनुभयो।

यस्तै, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले शेयर बजारमा लगानी गर्न लगानीकर्ता सकारात्मक भएको सुनाउनुभयो। उहाँले अर्थमन्त्री डा. युवराज खतिवडा पनि पछिल्लो समय शेयर बजारप्रति सकारात्मक देखिएको बताउँदै यसले लगानीकर्तामा उत्साह छाएको बताउनुभयो।

उहाँले बैंकले शेयर बजारमा कर्जा सहज बनाएकाले पनि लगानीकर्ता यसतर्फ आकर्षित भएको सुनाउनुभयो। उहाँले भन्नुभयो– ‘यी सबै कारणले लगानीकर्ताको मनोबल उच्च भएको छ, अब बजार घट्ने सम्भावना देखिँदैन।’