ट्रम्पद्वारा समलिंगीमा आधारित भारतीय फिल्मको प्रशंसा

0
Shares

नयाँदिल्ली, (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भारत यात्रापूर्व त्यसप्रतिको आफ्नो उत्सुकतालाई बढाउँदै एक भारतीय फिल्मको प्रशंसामा ट्विट गरेका छन्।
राष्ट्रपति ट्रम्पले आयुष्मान खुरानाको फिल्म– ‘शुभमंगल ज्यादा सावधान’ को प्रशंसा गरेका हुन्। ट्विटमा ट्रम्पले फिल्मको विषय उत्कृष्ट भएको बताए।

शुक्रबार रिलिज भएको उक्त चलचित्रमा आयुष्मानसँगै जितेन्द्र कुमार, नीना गुप्ता र गजराज राउजस्ता कलाकार मुख्य भूमिकामा छन् र राष्ट्रपति ट्रम्पले ब्रिटिस अभियन्ता पिटर टेचेरको फिल्मसँग सम्बन्धित ट्विटलाई रिट्विट गर्दै ‘ग्रेट’ लेखेका छन्।

पिटरले फिल्ममा लेखिएको एक लेख रचना सेयर गरी लेखेका थिए– ‘भारतमा एक नयाँ बलिवुड रोमान्टिक कमडी रिलिज भएको छ जसमा समलिंगी रोमान्स देखाइएको छ। यस फिल्ममा वयस्कलाई समलिंगीप्रति जागरुक पार्ने प्रयास गरिएको छ। भारतमा यसअघि समलिंगी सम्बन्धलाई कानुनी मान्यता दिइसकेको छ, हुर्रे !

ट्रम्पको ट्विटलाई पिटरले पनि रिट्विट गरेका छन्। उनले उद्धृत गर्दै राष्ट्रपति ट्रम्पद्वारा एलजीबीटी मुद्दा र अधिकारलाई गम्भीरतासँग लिन थालेको हो वा मात्र पीआर स्टन्ट हो भन्ने लेखेका छन्।

फेब्रुअरी २४ र २५ दुई दिवसीय भ्रमणका लागि ट्रम्प भारत आउँदै छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदावादमा राष्ट्रपति ट्रम्पको भव्य स्वागत गर्नेछन् र त्यसपछि दुवै नेता एक भव्य रोड सोमा सहभागी हुनेछन्। डोनाल्ड ट्रम्पको यो पहिलो भारत यात्रा हो। उनको यात्रामा उनकी पत्नी, छोरी र ज्वाइँ पनि हुनेछन्।