आत्मनिर्णयको अधिकार दिने हो भने काश्मिर पाकिस्तानको हुनेछ: इमरान

0
Shares

इस्लामावाद, (एजेन्सी)।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यदि भारतले आफ्नो पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको प्रतिबद्धता पुरा गर्ने हो भने काश्मिर कुनै पनि स्थितिमा पाकिस्तानको पक्षमा आउने बताए।

बेल्जियमको एक टेलिभिजन नेटवर्कलाई दिएको अन्तरवार्तामा पाकिस्तानका प्रधानमन्त्रीले भने– ‘यदि काश्मिर जनतालाई आत्मनिर्णयको अधिकार दिइयो भने उनीहरू पाकिस्तानलाई चयन गर्नेछन्, किनभने त्यो मुस्लिम बहुल प्रान्त हो।’ भारतमा जबसम्म नाजीसँग प्रभावित भएर बनेको आरएसएसका समर्थन रहेको मोदी सरकार हुन्छ तबसम्म आफूले यस मुद्दामा समाधानको आशा नदेखेको इमरानले बताउँदै काश्मिर मुद्दा समाधान गर्न आवश्यक भएकोमा जोड दिए।

बेल्जियमको वीआरटी टीभी नेटवर्कलाई दिएको इमरान खानको उक्त अन्तरवार्ता पाकिस्तानको सरकारी च्यानल पीटीभीमा पनि प्रसारण गरिएको थियो।
अन्तरवार्ताका क्रममा पाकिस्तानका प्रधानमन्त्रीले मोदी सरकारको तर्फबाट भारत प्रशासित काश्मिरबाट विशेष राज्यको दर्जा फिर्ता लिएको मुद्दा पनि उठाए।

पाकिस्तानका प्रधानमन्त्रीले काश्मिरको मुद्दालाई संवेदनशील बताउँदै यसको समाधान भारत र पाकिस्तान दुबैको हितमा हुने बताए। उनले भने– ‘काश्मिरलाई लिएर पाकिस्तान र भारतबीच ३ पटक युद्ध भएको छ। दक्षिण एसियाका यी दुई ठुला देशका सम्बन्ध सामान्य बनाउनमा ठुलो मुद्दा बनेको छ, काश्मिर।’ यो व्यापार र समृद्धिको मार्गमा मुख्य बाधा हो। यदि दुई देशको सम्बन्ध सामान्य हुन्छ, कारोबार राम्रो हुन्छ भने दुबैलाई आफ्नो गरिबी पनि कम गर्न मद्दत हुनेछ।

पाकिस्तानका प्रधानमन्त्रीले काश्मिरलाई लिएर भारतमाथि शक्तिको प्रयोग गरेको आरोप लगाएका छन्। उनले भने– ‘काश्मिर त्यस्तो समस्या हो, जसलाई सल्टाउन अत्यन्तै कठिन छ, किनभने दुर्भाग्यले भारतलाई के लाग्छ भने, ऊ अत्यन्तै शक्तिशाली छ। उसले जसको हातमा लठ्ठी उसकै भैंसीमा विश्वास राख्छ। जबकि संयुक्त राष्ट्रको ७० वर्ष पुरानो प्रस्तावले काश्मिरका नागरिकको आत्मनिर्णयको अधिकार दिएको छ।

यदि काश्मिरमा जनमत संग्रह भएमा त्यहाँको आवादीले पाकिस्तानसँग रहने विकल्प चयन गर्नेछ किनभने त्यो मुस्लिम बहुल प्रान्त हो।’ –इमरानले दाबी गरे।

काश्मिरी जनताले पाकिस्तानलाई चयन गर्छन् भन्ने भारतलाई थाहा भएकाले नै काश्मिरी जनतालाई आत्मनिर्णयको अधिकार नदिएको उनले बताए। भारत धर्मको आधारमा विभाजन भएको थियो। हिन्दू बहुल र सिख बहुल हिस्सा भारतमा गएको र मुसलमान बहुल हिस्सा पाकिस्तान बनेको बताउँदै भारतले काश्मिरमाथि हतियारको आडमा कब्जा गरेको इमरानले बताए।

उनले भने– ‘भारतको पहिलो प्रधानमन्त्री नेहरूले जनमत संग्रहको प्रतिबद्धता गरको थियो। तर त्यसलाई पुरा गरिएन। भारतले त्यसलाई एकतर्फी कब्जा गरिरह्यो।’

काश्मिरलाई लिएर पाकिस्तानका यस प्रकारका दावीलाई भारतले खण्डन गर्दै आइरहेको छ। भारतले काश्मिर उसको आन्तरिक मामिला भएको बताउँदै पाकिस्तान र भारतबीच शिमला सम्झौतापछि संयुक्त राष्ट्रको पहिलेको प्रस्तावको कुनै औचित्य नभएको अडान राख्दै आएको छ। उक्त मुद्दा दुई देशले बिना कुनै बाहिरी हस्तक्षेप समाधान गर्नुपर्नेमा जोड दिँदै आइरहेको छ।