ट्रंक लाइनको बिलिङप्रति संघको ध्यानाकर्षण

0
Shares

यमलाल भुसाल, बुटवल 

ट्रंक लाइनका नाममा विद्युत् महशुल बृद्धि गरेको भन्दै तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
विगत लामो समयदेखि यस क्षेत्रमा सञ्चालित उद्योगहरुमा ३३ केभीए न्यू टु औद्योगिक कोरिडोर विद्युत् जडान गरी उद्योग सञ्चालन हुँदै आएकोमा प्राधिकरणको ट्रंक लाइनको बिलिङप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।

रुपन्देहीको मणिग्राम, कोटिहवा हँुदै भैरहवा क्षेत्रमा विगत लामो समयदेखि सञ्चालित उद्योग तथा उद्योगीले ३३ केभीए न्यू टु औद्योगिक कोरिडोर विद्युत् जडान गरी उद्योग सञ्चालन गर्दै आइरहेका उद्योगीलाई प्राधिकरणले हाल ट्रंक कल बमोजिम दररेट कायम गरी बिलिङ गर्दा साधारण विद्युत्भन्दा ६७ प्रतिशत महंँगो हुन गएको भन्दै संघले प्राधिकरण नयाँमिल शाखा मणिग्राममा ज्ञापनपत्र बुझाउँंदै ध्यानाकर्षण गराएको हो ।

प्राधिकरणले २०७६ माघदेखि ट्रंक बिलिङ डेलिकेटेड लाइनका नाममा बढी मूल्यको बिल आएको यस क्षेत्रका उद्योगीको गुनासो आएकाले पुरानै दररेट कायम गर्न आग्रह गर्दै प्राधिकरणको ध्यानाकर्षण गराएको संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले जानकारी गराउनुभयो ।

मणिग्रामदेखि कोटिहवा हुँदै भैरहवासम्म सब स्टेशनमा नजोडी स्विचिङ मात्र गरी विद्युत् प्रसारण भइरहेको अवस्थामा ट्रंक लाइनको नाममा बिलिङ गरिनु र भैरहवाबाट पश्चिमतर्फको त्यही लाइन औद्योगिक कोरिडोरकै रुपमा बिलिङ हुनु आश्चर्यको विषय भएको ज्ञापन पत्रमा उल्लेख छ ।

३३ केभीए न्यू टुको औद्योगिक कोरिडोरको लाइनलाई आफ्नै मनोमानी ढंगले प्राधिकरणले ट्रंक लाइन भनी परिभाषित गरी महशुल उठाउने रणनीति देखिएको छ भने अर्कोतर्फ ट्रंक कल बिलिङ समस्याले विद्युत् शूल्क महंँगो हुन गई उत्पादन लागत समेत बढ््न जाँंदा बजारमा प्रतिस्पर्धा गर्न नसकेर उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

एउटै प्रकृतिको लाइनमा प्राधिकरणले दोहोरो मापदण्ड अवलम्बन गर्दा उद्योगीका बीचमा विभेद देखिएकाले यो समस्याको तत्काल समाधानका लागि आवश्यक सहयोग गरिदिनका लागि पनि संघले प्राधिकरणसंँग आग्रह गरेको छ ।