गृहमन्त्रीलाई खोकनावासीले भने- ‘हाम्रो मौलिकता जोगाइदिनुपर्यो’

0
Shares

सुनिल महर्जन, ललितपुर ।

खोकना महोत्सवको अवलोकन गर्न पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई खोकनाबासीले त्यहाँको मौलिकता जोगाइदिन आग्रह गरेका छन्।
खोकनाको मौलिकता बचाउन केही दिनअघि माइतीघर मण्डलामा जुलुस प्रदर्शन गरेको सन्दर्भ जोड्दै उनीहरूले भने–‘विभिन्न विकासे आयोजनाले यहाँको मौलिकता हराउने निश्चित छ। ती आयोजनाहरू अन्यत्र सार्नुपर्यो।’

ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसालले पनि खोकनाबासीको उक्त भनाइमा जोड दिनुभयो। फास्टट्रयाक, ३२ केभी राष्ट्रिय प्रसारण लाइन, बाहिरी चक्रपथजस्ता आयोजनाले खोकनाको सांस्कृतिक सम्पदा संकटमा परेकोप्रति सांसद् भुसालले ध्यानाकर्षण गराउनुभयो।

उद्घाटनसत्रका क्रममा ६० जना वाद्यवादकले नेवाः बाजा अर्केस्ट्राको प्रस्तुति गरेका थिए। सो कला हेरेर दंग परेका गृहमन्त्री थापाले भन्नुभयो–‘काठमाडौं उपत्यकाको मौलिकता खोकनामा अझै जीवन्त छ। यसलाई बचाउनुपर्दछ। गृह मन्त्रालयको तर्फबाट पुरापुर सहयोग हुनेछ।’

ललितपर, जावलाखेलबाट करिब ७ किमी दक्षिणमा रहेको मल्लकालीन नेवारी बस्ती(खोकना) मा गृहमन्त्री थापाको यो पहिलो भ्रमण थियो।

उद्घाटन सत्र समापनमा उहांलाई खोकनाबासीले खोकनामै उत्पादित एक लिटर तेलको मायोको चिनोस्वरुप दिएका थिए।

करिब ३ घण्टा खोकना बसाइका क्रममा गृहमन्त्री थापाले प्रदर्शनीमा राखिएका हरेक वस्तुको रुचिपूर्वक अवलोकन गर्नुभयो। महोत्सवका संयोजक एवं ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रविन्द्र महर्जनले गृहमन्त्रीको जिज्ञासा मेटाउदै अवलोकनको यात्रा अघि बढाउनुभएको थियो।

प्रदर्शनीमा खेतबाट सामान ल्याउँदा प्रयोग गरिने (च्वख्वामु एक प्रकारको खर्पण), परम्परागत विभिन्न औजारहरू राखिएका छन्।

काठमाडौं उपत्यकामा करिब १५, २० वर्ष अघिसम्म देखिने खर्पन र औजारहरू देखिन छाडिसकेको स्मरण जोड्दै गृहमन्त्री थापाले भन्नुभयो– ‘यो प्रदर्शनी त गज्जब छ। यसले आधुनिक पुस्ताका लागि आफ्नो समाज र उत्पादनको साधन बुझ्न सघाउँछ।’

संयोजक महर्जनले भन्नुभयो–‘खोकना र बुंगमतीका अधिकाशं मानिस अहिले पनि कृषि पेशामा संलग्न हुने गरेकोले दैनिक जीवनमा यी औजारहरूको प्रयोग हुँदै आएको छ।
उहाँले हाकुसी पटासी लगाएका दुई जना महिलाले रातो चिउरा बनाउने धान हाडीमा भुटिरहेको, अरू महिलाले ती धान निकालेर परम्परागत प्रविधि (कुतिवायेगु) बाट धान बनाइरहेको, हाकु पटासी र भान्ता ल(नेवाः समुदायमा अविवाहित युवतीले लगाउने परम्परागत लुगा)मा सजिएका बालिकाले खोकनाको संस्कृति, सभ्यता जोगाऔं, पुरातात्विक सामग्री र स्थानको संरक्षण गरौ’ भनेर लेखिएका प्लेकार्ड बोकिरहेकोजस्ता दृश्य अवलोकन गर्नुभयो।

प्रदर्शनीमा परम्परागत माटोका चाया सनः (डराज), कःचाः (खेतबारीमा मलको रुपमा प्रयोग गरिने माटो), स्युःचाः (दैलो लिप्ने), सलाचाः (पठनपाठन हुँदा लेख्न प्रयोग गरिने), गिचा (इँटा बनाउने प्रयोग गरिने माटो), वेत, तामा पित्तल र काठबाट बनाइएका डराज, जाँड, रक्सी बनाउने र राख्ने माटाका भाडा, छाता, शंख, थरिथरिका डमरु, च्याङग्रा र राँगाको सिङ जडित आर्कषक खिः राखिएको छ।

यसैगरी राखिएका अन्य सामग्रीमा गुफा राख्ने, बेलविवाह, भीमरथारोहण, कुमारी र मञ्जुश्रीनाच देखाइएको छ। मकैको थाङ्ग्रा, म्युजियम, तेलमिल, मल्लकालीन संस्कृति, संस्कार, प्रविधि, कृषि उत्पादन प्रणालीमा आवश्यक औजार, कला, संस्कृति, खानेकुरा बनाउने तरिका आदि छन्।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको खोकनाका निजीआवास र सम्पदा पुनःनिर्माण अझै सकिएको छैन। सयौं वर्षदेखि कृषि पेशाबाट जीवन धान्दै आएका खोकनाबासीलाई पुनःनिर्माणका लागि जग्गा बेच्नुपर्ने बाध्यतात्मक अवस्थाको सामना गर्नुपरिरहेको छ।

स्मरणीय छ, मुलुकमै सबैभन्दा पहिला विजुली बलेको खोकनालाई यूनेस्कोले विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको छ। महोत्सव आइतबारसम्म चल्नेछ।