प्रमको ‘भिजन टु एक्सन’ राष्ट्रकवि घिमिरे र शताब्दीपुरुष जोशीद्वारा लोकार्पण

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मुलुकको समृद्धिको योजना र आफ्नो अनुभव समेटिएको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक गरिएको छ। उहाँको ६९औँ जन्मोत्सवको अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र बाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले संयुक्तरूपमा सोको लोकार्पण गर्नुभएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा आइतबार ७० वर्ष टेक्दै गर्नुभएका प्रधानमन्त्री ओलीलाई उहाँका ९० वर्षीय पिता मोहनप्रसाद ओलीले शुभकामना दिनुभयो।

प्रधानमन्त्री ओलीले अंग्रेजी भाषामा लेख्नुभएको पुस्तकलाई ‘कल्पना र कर्म’, ‘मित्रता र कूटनीति’, ‘व्यापार र लगानी’ तथा ‘काम र श्रम’ गरी चार भागमा विभाजन गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले मुलुक सञ्चालनका दौरान प्राप्त गर्नुभएको सीप, अनुभव, मुलुकलाई बदल्न अघि सार्नुभएको दृष्टिकोण र त्यसको कार्यान्वयनका विषय पुस्तकमा समेट्नुभएको छ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले ओलीले प्राकृतिक हिसाबले सुन्दर र उर्वर भूमिमा अव्यवस्थाका कारणले मानिसले खान, लगाउन र बस्ने ठाउँ नपाएको बताउँदै वितरणमा समुचित व्यवस्था गर्न नसक्दा समस्या आएको बताउनुभयो। पुस्तकमा उहाँले अबको नेपाललाई कसरी अगाडि बढाउने भनेर विभिन्न ढंगले आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले सन्तुलित, प्रभावकारी र उचित प्रकारको छिमेक र वैदेशिक सम्बन्ध विकास गर्दै भिन्दाभिन्दै राजनीतिक, आर्थिक र सामाजिक प्रवृत्ति बोकेको छिमेकीसँग सन्तुलन कायम गर्नुपर्नेमा जोड दिनुभयो।