खोकनामा गृहमन्त्री खुशीले गद्‍गद्

0
Shares

सुनील महर्जन,ललितपुर ।

खोकना महोत्सव अवलोकन गर्ने क्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अघिपछि भन्दा निकै प्रफुल्लित देखिनुहुन्थ्यो । अक्सर कम बोल्ने र गम्भीरदेखिने गृहमन्त्री ‘बादल’ करिब ३ घण्टा खोकना बसाँईमा मुहारमा प्रसन्नता झल्किन्थ्यो भने बोलीमा कौतुहलता ।

जावलाखेलबाट करिब ७ किमी दक्षिणमा रहेको मल्लकालीन नेवारी बस्तीमा त्यो त गृहमन्त्री ‘बादल’ यो भ्रमण पहिलो थियो । शिवरात्रीको अवसरमा टुडिँखेलमा भएको सेना दिवसको कार्यक्रमका कारण शुक्रबार निर्धारित समय भन्दा करिब अढाई घण्टा ढिला गरी गृहमन्त्री ‘बादल’ महोत्सवको उद्घाटनको लागि खोकना आउनुभएको थियो ।

‘मल्लकालीन नेवारी कला,संस्कृतिलाई नजिकबाट नियाले । निकै उत्कृष्ट र वैज्ञानिक लाग्यो । युवापुस्तामा यस सचेतना फैलाउन जरुरी छ ।’ खोकनाबाट बिदा हुने क्रममा गृहमन्त्री बादल’ले भन्नुभयो ।

उद्घाटन सत्रको समापनमै खोकनामा उत्पादित एक लिटर तेलको बोटल गृहमन्त्री ‘बादल’लाई मायोको चिनो स्वरुप दिइएपछि उहाँ निकै अचम्मित हुनुभएको थियो। त्यसपछि खोकनाको क्वय्लाछिमा योमरीको स्वाद लिँदै गृहमन्त्री बादलको महोत्सव अवलोकन शुरु गर्नुभयो ।
प्रदर्शनीमा राखिएका हरेक वस्तुको रुचिपूर्वक अवलोकन गर्दै उहाँले त्यसप्रति बीचमा बीचमा जिज्ञासा राख्नुभयो ।

महोत्सवका संयोजक एवं ललितपुर महानगरपालिका– २१ का वडाअध्यक्ष रविन्द्र महर्जनले गृहमन्त्रीको जिज्ञासा मेटाउदै अवलोकनको यात्रा अघि बढेको थियो । अवलोकन गर्दै जाँदा गृहमन्त्री ‘बादल’ले प्रदर्शनीमा राखिएका खेतबाट सामान ल्याउँदा प्रयोग गरिने (च्वख्वामु एक प्रकारको खर्पण देख्नु) र खेतीपातीमा प्रयोग हुने औजारहरु नियाल्नुभयो ।

काठमाडौं उपत्यकामा करिब १५, २० वर्ष अघिसम्म देखिने यस्तो खर्पण र औजारहरु देखिन छाडिसकेको स्मरण जोड्दै उहाँले भन्नुभयो ‘यो प्रर्दशनी त गज्जब छ । आधुनिक पुस्ताको लागि आफ्नो समाज, उत्पादनको साधन बुझ्न यसले सघाउछ ।’

नभन्दै संयोजक महर्जनले भन्नुभयो ‘खोकना र बुंगमतीका अधिकाशं मानिसहरु अहिले पनि कृषि पेशामा संलग्न हुने गरेकोले दैनिक जीवनमा यी औजारहरुको प्रयोग गर्दै आएका छन् । कृषि पेशाबाट विस्थापित हुँदै अन्यत्र पेशा रोज्ने, आधुनिक जीवनशैलीसंगै यी सामग्रीहरुको प्रयोगपनि हराउँदै जाने दिनहरु टाढा छैनन् ।’ यस्तै कुराकानी क्रमले महोत्सव अवलोकनको दौरान झन्डै डेढ घण्टासम्म निरन्तरता पाइरहयो।

अवलोकनकै क्रममा गृहमन्त्री बादलले हाकुसी पटासी लगाएका दुई जना महिलाले रातो चिउरा बनाउने धान) हाडीमा भुटिरहेको रुचिपूर्वक हेर्नुभयो । अरु महिलाहरुले ती धान निकालेर परम्परागत प्रविधि (कुतिवायेगु) बाट धान बनाईरहेका थिए । अवलोकनकै क्रममा उहाँले हाकु पटासी र (भान्ता लँ) नेवाः समुदायमा अविवाहित युवतीले लगाउने परम्परागत लुगा) मा सज्जिएका बालिकाहरुले ‘खोकनाको संस्कृति, सभ्यता जोगाऔं, पुरातात्विक सामग्री र स्थानको संरक्षण गरौ’ भनेर लेखिएका प्लेकार्ड पनि पढ्नुभयो ।

उद्घाटनसत्रै ६० जना वाद्यवादकहरुले नेवाः बाजा अर्केस्ट्राको प्रस्तुतीबाट दंङ्ग भएका गृहमन्त्री बादल भन्नुभयोे ‘काठमाडौं उपत्यकाको मौलिकता खोकनामा अझै जीवन्त छ । यसलाई बचाउनुपर्दछ । गृह मन्त्रालयको तर्फबाट यस कार्यमा पुरापुर सहयोग हुने छ ।’

गृहमन्त्रीले यसो भनिरहँनुहुँदा संगै रहेका एक खोकनाबासीले खोकनाको मौलिकता बचाउन केही दिन अघि राजधानीको माईतीघर मण्डलामा जुलुस आएको सन्र्दभ जोड्दै भनेका थिए ‘ विभिन्न विकासे आयोजनाले यहाँको मौलिकतामा प्रतिकूल पार्ने निश्चित छ ।
ती आयोजनाहरुलाई अन्यत्र सार्नुप¥यो ।’

यो कुरो खोकनाका स्थानीयवासीसंगै उद्घाटन सत्रमा ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसालले पनि गृहमन्त्री ‘बादल’ समक्ष राख्नुभयो । फास्ट्रयाक, ३२ केभी राष्ट्रिय प्रसारण लाईन, बाहिरी चक्रपथ जस्ता आयोजनाले खोकनाको सांस्कृतिक सम्पदा संकटमा परेको प्रति सांसद् भुसालले ध्यानाकर्षण गराउनुभएको थियो ।

खोकनामा प्रदर्शनका क्रममा परम्परागत माटोका चाया सनः (डराज), कःचाः (खेतबारीमा मलको रुपमा प्रयोग गरिने माटो), स्युःचाः (दैलो लिप्ने), सलाचाः (पठनपाठन हुदा लेख्न प्रयोग गरिने), गिचा (इँटा बनाउने प्रयोग गरिने माटो ) राखिएको छ ।

वेत, तामा पित्तल र काठबाट बनाइएका डराज, जाँड, रक्सी बनाउने र राख्ने माटाका भाडा, छाता, शंख, थरिथरिका डमरु, च्याङग्रा र राँगाको सिङ जडित आर्कषक खिः पनि राखिएको छ । त्यस्तै गुफा राख्ने, बेलविवाह, भीमरथारोहण, कुमारी र मञ्जुश्री नाच देखाइएको छ । मकैको थाङग्रा, म्युजियम, तेलमिल प्रर्दशनीमा राखिएको छ । मल्लकालीन संस्कृति, संस्कार, प्रविधि, कृषि उत्पादन प्रणालीमा आवश्यक औजार, कला, संस्कृति, खानेकुरा बनाउने तरिकाको जीवन्त प्रदर्शनीमा स्थानीय महिलाहरु व्यस्त देखिन्थ्यो ।

२०७२ सालको भूकम्पले खोकनाको करिब ७० प्रतिशत निजी आवास सम्पदा क्षतिग्रस्त भएको थियो । पुनःनिर्माण अहिले पनि सकिएको छैन । सयौं वर्षदेखि कृषि पेशा गरेर जीवन निर्वाह गर्दै आएका खोकनावासीलाई पुनःनिर्माणका लागि आफ्नो जग्गा जमिन बेच्नुपर्ने बाध्यतात्मक परिस्थितिको सामना गर्नुपरिरहेको छ ।

यस अवस्थामा पुराना कला, संस्कृतिलाई बचाईराख्नु सहज काम नभएको पनि गृहमन्त्री ‘बादल’ को धारणा रहेको छ ।‘मल्लकालीन नेवारी कला, संस्कृतिलाई नजिकबाट नियाले । निकै उत्कृष्ट र वैज्ञानिक लाग्यो ।युवापुस्तामा यस सचेतना फैलाउन जरुरी छ ।’

खोकनाबाट बिदा हुने क्रममा गृहमन्त्री ‘बादल’ले भन्नुभयो ।खोकनालाई यूनेस्कोले विश्व सम्पदामा सुचीकृत गर्न प्रस्ताव समेत गरिसकेको छ । मुलुकमै सर्वप्रथम विजुली बत्ती बलेको पनि खोकना मै छ । महोत्सव आईतबार सम्म चल्ने छ ।