बूढीगण्डकीमा करिब १५ अर्ब मुआब्जा वितरण

0
Shares

नेपाल समाचारपत्र, गोरखा ।

१२ सय मेगावाट क्षमताको राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाका निम्ति गोरखातर्फ आरुघाट र आर्खेत क्षेत्रमा १४ अर्ब ७९ करोड ७६ लाख ९७ हजार रुपियाँ मुआब्जा वितरण भएको छ। त्यस क्षेत्रमा २३ हजार ३३१ रोपनी जग्गाको मुआब्जा वितरण गरिएको हो।

बूढीगण्डकी जलविद्युत् आयोजना, पुनर्बास तथा पुनःस्थापना इकाईका अनुसार ७ हजार ८ ३८ जग्गाधनीको बैंक खातामा मुआब्जाको पैसा गइसकेको छ। प्रशासनले मुआब्जा तोके पनि स्थानीयले मुआब्जा थोरै भएको भन्दै लामो समय आन्दोलन गर्दै आएका थिए। आन्दोलनरत स्थानीयले मुआब्जा नलिने बताउँदै आएपनि अहिले धमाधम मुआब्जा बुझिरहेको आयोजनाले जनाएको छ।

‘आरुघाट क्षेत्रको करिब तीन हजार रोपनीको मात्रै मुआब्जा दिन बाँकी छ,’ आयोजना इकाईका प्रमुख कृष्णबहादुर कार्कीले भन्नुभयो । आयोजना निर्माणको लागि पहिलो चरणमा ५८ हजार रोपनी जग्गाको मुआब्जा वितरण हुन लागेको हो। आयोजना निर्माणको लागि भने १ लाख ३० हजार जग्गा अधिग्रहण गरी मुआब्जा दिनुपर्ने बताइएको छ। योमध्ये अधिकांश क्षेत्रको मुआब्जा वितरण भइसकेको छ।

आयोजनाले चालू आर्थिक वर्षमै मुआब्जा वितरणको काम सक्ने योजना बनाएको छ। ‘अहिलेकै आर्थिक वर्षमा मुआब्जाको काम सकिन्छ,’ उहाँले भन्नुभयो–‘गोरखातर्फ सक्ने बित्तिकै धादिङमा बाँकी रहेका क्षेत्रको मुआब्जा वितरण हुन्छ। धादिङको लागि १७ अर्ब रुपियाँ निकासा भएर गइसकेको छ।’

गोरखाको आरुघाट बजार र आर्खेत बजार क्षेत्रको पनि मुआब्जा वितरणको तयारी भएको छ। यी क्षेत्र विवादित क्षेत्र भएकोले घर गोठ, बोट बिरुवा र बजार क्षेत्रको एकैपटक लगत संकलन गरेर मुआब्जा वितरण गर्न लागिएको छ। यसअघि मुआब्जा वितरण भएको क्षेत्रमा घर, गोठ र बोट विरुवाको मुआब्जा वितरण भएको थिएन। ती क्षेत्रको पनि लगत संकलन शुरू गर्न लागिएको छ।