कांग्रेसले भन्यो– हामी भनेको को–को हो ?

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । 

शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी पाएका सञ्चारमन्त्री गोकुल बाँस्कोटा कमिसन काण्डमा मुछिएसँगै राजीनामा दिए पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निष्पक्ष छानबिनको माग गर्दै विरोध जनाइरहेको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सिलसिलामा बिचौलियासँग करोडौं रुपियाँ कमिसनको डिल गरेको अडियो टेप सार्वजनिक भएलगत्तै प्रतिपक्ष दल कांग्रेसले सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न माग गरेको थियो। उक्त टेप सार्वजनिक भएलगत्तै जनस्तरबाट समेत व्यापक आलोचना भएपछि मन्त्री बाँस्कोटाले बिहीबार राजीनामा दिनुभएको थियो।

उक्त अडियो टेप रेकर्डमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्विस एजेन्डसँग ७० करोड रुपियाँ कमिसनको डिल भएको प्रस्ट सुनिन्छ। बाँस्कोटाको राजीनामापछि पनि कांग्रेसले अधिकार प्राप्त निकायले निष्पक्ष छानबिन गर्नुपर्ने र यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सदनमा जानकारी दिनुपर्ने माग गरेको छ। कांग्रेसले यही विषयलाई लिएर बिहीबार सदनसमेत अवरुद्ध गरेको थियो।

मन्त्री बास्कोटाको अडियो टेप प्रकरणबारे कांग्रेसले बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रतिशोधको कुनै पनि मनोविज्ञान नराखी तथ्यपूर्ण रूपमा अनुसन्धान गर्नुपर्ने बताएको थियो। कांग्रेसले प्रधानमन्त्री ओलीलाई समेत अनुसन्धान गर्ने निकायलाई निष्पक्ष अनुसन्धान गर्न प्रेरित र सहयोग गर्न पनि अनुरोध गरेको छ।

प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा बस्दै आएका बास्कोटाको कमिसन मागेको अडियो टेप प्रधानमन्त्रीलाई सार्वजनिक हुनुपूर्व नै बुझाएका समाचारहरु सार्वजनिक भएसँगै कांग्रेसले यसबारेमा पनि प्रधानमन्त्रीको जवाफ खोजेको छ।

बास्कोटाले कर्मचारीलाई अपशब्द प्रयोग गर्दै कमिसन डिल गरेको बारे कांग्रेस प्रवक्ता शर्मा भन्नुहुन्छ– ‘स्थायी सरकारका रूपमा रहेका राष्ट्रसेवक कर्मचारीहरुलाई कसैले पनि अपशब्द बोल्न मिल्दैन।’

अडियोमा बास्कोटाले ‘हामीलाई’ कति आउँछ भन्ने शब्द प्रयोग गरेको बारे कांग्रेसले भनेको छ– ‘हामी भनेको को–को हो निष्पक्ष छानविन होस्।’ बास्कोटाको अडियो टेप प्रकरणबारे अन्य दलले पनि आलोचना गरिरहेका छन्।

बिहीबार साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले पनि एक विज्ञप्ति जारी गरी आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी ओलीकै भक्तपुरस्थित निजी निवासमा बस्दै आएका मन्त्री बास्कोटालाई तुरून्तै बर्खास्त गरेर निष्पक्ष छानविन गर्न साझा पार्टी प्रधानमन्त्रीसँग जोडदार माग गरेको जनाउनुभएको थियो।

झन्डै दुई तिहाई बहुमत प्राप्त इतिहासकै एउटा शक्तिशाली सरकारले देशको नेतृत्व गरिरहेको छ भन्दै साझा पार्टीले भनेको छ– ‘देशलाई दशकौंदेखि जर्जर बनाइरहेको, विकासलाई अवरुद्ध पारिरहेको, समग्र समाजमा नैतिक क्षयीकरण ल्याइरहेको भ्रष्टाचारको महामारीलाई रोक्न कडाभन्दा कडा कदम चाल्न सक्ने अवसर हुँदाहुँदै हरदिन आम जनताले ठूलठूला भ्रष्टाचारको समाचार पढ्न बाध्य हुनुपर्ने अवस्था नेपालीहरूको नियति बनिसकेको छ।’