जानकारी छैन: दूतावास

0
Shares

काठमाडौं, (नेस)

नेपालस्थित स्विजल्यान्ड दूतावासले सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग स्विस कम्पनीका प्रतिनिधि भनेर गरिएको विवादास्पद अडियो कुराकानीबारे कुनै जानकारी नभएको स्पष्टोक्ति दिएको छ। दूतावासले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी सो विषयमा दूतावासले कुनै बैठकको आह्वान नगरेको पनि जनाएको छ।

विज्ञप्तिमा भनिएको छ– ‘राजदूतावास यो स्पष्ट गर्न चाहन्छ कि यस दूतावासले कुनै बैठकको आह्वान गरेको छैन, न त समाचारमा उल्लेखित विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग निकट भविष्यमा कुनै छलफल तोकिएको थाहा छ।’

‘स्विस कम्पनीका प्रतिनिधि भनेर समाचारमा उद्धृृत गरिएका व्यक्तिको लेनदेनबारे दूतावास जानकार छैन। न त यसमा कुनै संलग्नता छ’– विज्ञप्तिमा भनिएको छ।

मन्त्री बास्कोटासँग भएको अडियो कुराकानीमा एजेन्ट विजय मिश्रले मन्त्रीसँग स्विस दूतावासका प्रतिनिधि भेटका लागि आउन लागेको भनिएको छ। अडियोमा दूतावासको नाम मुछिएपछि वक्तव्यमार्फत एम्बेसीले खण्डन गरेको हो।