पत्रकार सम्मेलन स्थगित

0
Shares

काठमाडौं, (नेस) ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि बिहीबार पूर्वनिर्धारित पत्रकार सम्मेलन स्थगित गरिएको छ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न हरेक साता बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्रकार सम्मेलन गर्दै आएको थियो।

मन्त्री बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक भएपछि अरू बेला नियमित पत्रकार भेटघाट आउने पत्रकारलाई पनि बिहानैदेखि पत्रकार सम्मेलन हुने हो कि नहुने भन्ने आशंका थियो। मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीसहित अन्य कर्मचारीलाई बिहानैदेखि आज पत्रकार सम्मेलन हुन्छ कि हुँदैन भनी फोन आएको आयै थियो।

प्रवक्ता तिवारीलगायतले दिउँसो २ बजेसम्म पत्रकार सम्मेलन ४ बजे हुने भन्दै आएका थिए। बाँस्कोटाको राजीनामासँगै पूर्वनिर्धारित पत्रकारसम्मेलन स्थगित गरिएको थियो। ‘आजका लागि पत्रकार सम्मेलन स्थगित गरियो’, प्रवक्ता तिवारीले भन्नुभयो– ‘मन्त्रीज्यू मन्त्रालय नै आउनुभएन।’ प्रवक्ताका अनुसार मन्त्री बाँस्कोटा मंगलबारदेखि मन्त्रालय बाहिर जानुभएको थियो।

उहाँ गोरखापत्रको कोहलपुर संस्करण शुभारम्भलगायत कार्यक्रमका लागि राजधानीबाहिर जानुभएको थियो।
पहिला मन्त्रिपरिषद्का बैठक तत्काल सार्वजनिक हुने गरेकोमा २०७५ कात्तिकदेखि हरेक बिहीबार पत्रकार सम्मेलन आयोजना गरी बास्कोटाले मन्त्रिपरिषद्को निर्णयसँगै समसामयिक राजनीतिमा टीकाटिप्पणी गर्दै आउनुभएको थियो।

बास्कोटा बाहिरिएसँगै अघिल्लो साता मन्त्रिपरिषद्ले के–के निर्णय ग¥यो भनेर थाहा पाउन एक साता पर्खिनुपर्ने भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अब अर्को साता मात्र मन्त्रिपरिषद्को निर्णय गर्ने बताउनुभयो।