प्रेस नकिन्न र मिश्रलाई कारबाही गर्न निर्देशन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ।

समितिमा बिहीबार खरिद प्रक्रियाका विषयमा छलफलका लागि पूर्वनिर्धारित कार्यतालिका राखिएको थियो। छलफलको पूर्वसन्ध्यामै प्रेस खरिद प्रकरणमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घूस मागेको अडियो सार्वजनिक भएपछि खरिद प्रक्रिया अघि बढाउनु उचित नभएको समितिले निष्कर्ष निकालेको छ।

बाँस्कोटाले खरिद प्रक्रियामा संलग्न हुने भनिएका स्विस कम्पनीका नेपालस्थित एजेन्टसँग ७० करोड रुपियाँ कमिसन छुट्याउन डिल गरेको अडियो संवाद सार्वजनिक भएको थियो।

समितिमा छलफल हुनुअघि मन्त्रीसँगको अडियो सार्वजनिक भइसकेको अवस्थामा खरिद प्रक्रियालाई अघि बढाउनु उचित नहुने निष्कर्षसहित खरिद प्रक्रिया तत्काल रोक्न समितिले निर्देशन दिएको हो।

यस्तै समितिको बैठकले अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्र र भिडियो बनाई समितिका सदस्यहरुको चरित्रहत्या गर्न खोज्ने प्रभातकिशोर उपाध्यायलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएको छ।

समितिले नेपाल प्रहरीको साइबर अपराध ब्युरोलाई निर्देशन दिएको हो। समितिले यी दुवैलाई कारबाही गरी प्रतिवेदन समितिमा बुझाउनसमेत ब्युरोलाई निर्देशन दिँदै पत्राचार गरेको समितिका सदस्य राजन केसीले जानकारी दिनुभयो।

सामाजिक सञ्जाल फेसबुकमा उपाध्यायले समितिका सदस्यहरुको तस्वीर राखेर ‘४ अर्ब खाएर जर्मन कम्पनीलाई ठेक्का दिन लागेको’ स्टाटस राखेका थिए।