रंगशालालाई प्रतिटिकट १० रुपियाँ

0
Shares

हेटौंडा, (नेस) ।

चितवनमा कलाकार धुर्मुस र सुन्तलीले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि मकवानपुरबाट पनि विभिन्न सहयोग प्रदान भइरहेको छ। केही दिनअघि मनहरी गाउँपालिकाले ढुंगा, गिट्टी, बालुवा सहयोग गरेको थियो।

यसै क्रममा हेटौंडा–काठमाडौं सञ्चालन हुने सुमो कम्पनी ओमशान्ति यातायात प्रालिले रंगशाला निर्माणमा सहयोग गर्ने भएको छ। क्रिकेट रंगशालाका लागि प्रतिटिकट १० रुपियाँ छुट्याउने अभियान शुरु गरिएको हो।

फागुन–१ गतेदेखि अभियान शुरू भएको हो। सहयोग संकलन अभियानलाई दुई महिना सञ्चालन गर्ने ओमशान्ति यातायात प्रालि हेटौंडा काउन्टर इन्चार्ज आशिष भट्टले जानकारी दिए।

‘राज्यले निर्माण गर्नुपर्ने रंगशाला कलाकारले बनाइरहेको अवस्था छ। छिमेकी जिल्लामा बनिरहेको रंगशालाका लागि हामीले पनि सकेको सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले प्रतिटिकट १० रुपियाँ छुट्याउन शुरू गरेका हौं’, उनले भने यसबाट यात्रुलाई कुनै मार पर्ने छैन।

कम्पनीलाई आउने पैसाबाट हामीले कटाउने गरेका छौं। ओमशान्ति कम्पनीका १७ वटा सुमो छन्। सहयोग अभियानका लागि दैनिक १ हजारदेखि १५ सय रुपियाँसम्म संकलन भइरहेको छ।