एट्लेटिकोसँग हार्यो लिभरपुल

0
Shares

लन्डन, (एजेन्सी) ।

यूएफा च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन लिभरपुल पराजित भएको छ।

जारी सिजनको च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको प्रि–क्वार्टरफाइनलको पहिलो लिगमा लिभरपुल स्पेनिस क्लब एट्लेटिको मेड्रिडसँग उसैको घरेलु मैदानमा १–० ले पराजित भएको हो।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा एट्लेटिकोको जितमा साउल निग्वेजले पहिलो हाफको शुरुआतमा गरेको गोल नै निर्णायक बन्न पुगेको थियो। लिभरपुल सम्हालिन नपाउँदै खेलको चौथो मिनेटमा नै सउल निग्वेजको गोलबाट घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो। कप्तान कोकेको पासमा निग्वेजले क्लोज रेन्जबाट गोल गर्न सफल भएका थिए।

इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल पछिल्लो १५औं खेलमा दोस्रोपटक पराजित भएको हो। कारवाओ कपमा एस्टन भिल्लासँग ५–० ले पराजित भएयता लिभरपुल अपराजित रहेको थियो। यसक्रममा लिभरपुलले एफए कपमा स्रुजवरीसँग २–२ गोलको बराबरी खेलेको थियो। बाँकी १३ खेलमा भने लिभरपुलले जित निकाल्न सफल भएको थियो। अब दोस्रो लिग लिभरपुलको घरेलु मैदान एन्फिल्डमा ११ मार्चमा खेल्नेछ। लिभरपुललाई अघिल्लो चरणमा पुग्न जित आवश्यक छ भने एट्लेटिकोलाई बराबरी नै पर्याप्त हुनेछ।

मंगलबार राति नै भएको अर्को खेलमा फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ। नर्बेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको उत्कृष्ट प्रदर्शनमा जर्मन क्लब बोरुसिया डर्टमन्डले यूईएफए च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लिगमा पीएसजीलाई पराजित गरेको हो। घरेलु मैदान सिग्नाल इदुना पार्कमा हालान्डले दुई गोल गरेपछि डर्टमन्ड २–१ ले विजयी भएको हो। पीएसजीका लागि नेयमारले गोल गरेका थिए।

निकै प्रतिस्पर्धात्मक खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ६९औं मिनेटमा हालान्डको गोलमा डर्टमन्डले अग्रता लियो। राफेल गुरेरोको प्रहार ६ यार्ड बक्सभित्र डिफेन्डरलाई लाग्दै फुस्केपछि उक्त बललाई हालान्डले गोलमा परिणत गरेका थिए। ७५औं मिनेटमा नै नेयमारले क्लियन एम्बाप्पेको क्रसलाई सदुपयोग गर्दै गोल गरेपछि खेल बराबरीमा आएको थियो।

तर, हालान्डले पीएसजीको अग्रता दुई मिनेट पनि टिक्न दिएनन्। उनले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको शक्तिशाली प्रहार पीएसजीका गोलरक्षक केलर नाभासले बचाउने कुनै मौका पाएनन्। पहिलो हाफमा पनि केही अवसर पाएका हालान्डले च्याम्पियन्स लिगको आफ्नो उच्च लयलाई कायम राख्न सफल रहे। हालान्डले जारी सिजन २९ खेलमा नै ३९ गोल गरिसकेका छन्। डर्टमन्ड भित्रिएयता नै उनले ११ गोल गरेका छन्। यी दुईबीच दोस्रो लिग मार्च ११ मा पेरिसको घरेलु मैदानमा हुनेछ।