वासिङटन, (एजेन्सी)।
अर्को हप्ता भारत भ्रमणको तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग ठूलो व्यापार सम्झौता भविष्यमा कुनैबेला गर्ने बताए। भारतसँग उक्त सम्झौता यस वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावअघि हुन सक्छ वा सक्दैन भन्ने बारे आफूलाई थाहा नभएको पनि ट्रम्पले बताए।
वासिङटनमा पत्रकारहरुसँग वार्ता गर्दै ट्रम्पले भने– ‘हामी भारतसँग व्यापार सम्झौता गर्न सक्छौंं। तर म यो बृहत सम्झौता भविष्यका लागि सुरक्षित गरिरहेको छु। हामी भारतसँग अत्यन्त बृहत सम्झौता गर्न गइरहेका छौं। हामी यो सम्झौता गर्छाैं तर यो नोभेम्बरको चुनावअघि हुन्छ वा हुँदैन मलाई थाहा छैन।’
समाचार एजेन्सी पीटीआईले एक समाचारमा ट्रम्पको भ्रमणमा भारत र अमेरिकाबीच एक व्यापार प्याकेजमा हस्ताक्षर हुन सक्ने जनाएको छ।
ट्रम्पले आफ्नो भारत भ्रमणलाई लिएर उत्साहित रहेको पत्रकारहरुलाई बताए। उनले भने– ‘मलाई प्रधानमन्त्री मोदी धेरै नै मनपर्छ।’ उनले मलाई भनेका छन्, विमानस्थल र कार्यक्रमस्थलको बीचमा ७० लाख नागरिक हुनेछन्। मैले बुझेअनुसार अहिले बनिरहेको जुन स्टेडियम छ, त्यो विश्वकै सबैभन्दा ठूलो स्टेडियम हो। उनले मलाई विमानस्थल र स्टेडियमबीच ७० लाख नागरिक हुने बताएका छन्, जुन अत्यन्तै रोमाञ्चक हुनेछ।
अमेरिका र भारतको व्यापार सम्बन्ध अहिलेको स्थितिमा धेरै राम्रो होइन। राष्ट्रपति ट्रम्पले मोदीको प्रशंसा गरेका छन् तर भारतसँगको व्यापार सम्बन्धलाई लिएर असन्तुष्टि पनि व्यक्त गरेका छन्।
उनले भने– ‘भारत हामीसँग धेरै राम्रो व्यवहार गर्दैन। म प्रधानमन्त्री मोदीलाई धेरै मन पराउँछु।’
अमेरिकी राष्ट्रपतिले फेबु्रअरी २४–२५ मा भारतको भ्रमण गर्नेछन्। यस यात्रालाई लिएर भारतमा दुई देशबीच व्यापार सम्झौता हुन सक्ने अपेक्षा गरिएको छ। तर राष्ट्रपति ट्रम्पले अहिलेलाई सम्भावित सम्झौतालाई लिएर समय लाग्न सक्ने संकेत दिएका छन्।
अमेरिका भारतको सबैभन्दा ठूलो व्यापार सहयोगी देशमध्येको एक हो। सन् २०१९ को पहिलो त्रैमासिकमा अमेरिकाले भारतलाई ४५ अर्ब डलरको निर्यात गरेको थियो। सोही अवधिमा अमेरिकाले भारतबाट ६५ अर्ब ५० करोड डलर सामान तथा सेवा आयात गरेको थियो। दुई देशबीच यस अवधिमा कुल १ खर्ब १० अर्ब ९० करोड डलरको व्यापार भएको थियो।
भारत यात्राका क्रममा राष्ट्रपति ट्रम्प अहमदावादको मोटेरा स्टेडियममा ‘नमस्ते ट्रम्प’ कार्यक्रममा पनि सहभागी हुनेछन्। यस कार्यक्रममा ठुलो संख्यामा नागरिक सहभागी हुन सक्छन्। ट्रम्पको यात्रालाई ध्यानमा राखी अहमदावादमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
यसका लागि १२ हजार भन्दा धेरै प्रहरीकर्मी तैनाथ हुनेछन्। राष्ट्रपति ट्रम्पको यात्रामा विमानस्थल र स्टेडियमबीच मार्गमा पर्ने झुपडीपट्टी बस्ती नदिखिने गरी बाहिर पर्खाल बनाइएको छ। वस्तीका बासिन्दाले अहमदावाद नगर निगम प्रशासनको उक्त कदमको विरोध गरेका छन्।












प्रतिक्रिया