कोरोना भाइरस प्रभाव: सुनको मूल्य बढ्ने क्रम जारी, नयाँ इतिहास रच्यो

0
Shares

परिवर्तन देवकोटा, काठमाडौं।

नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को गरी नयाँ कीर्तिमान रचिरहेको छ। बुधबार नेपाली बजारमा सुन इतिहासकै सर्वाधिक महँगो मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७७ हजार १ सय रुपियाँमा कारोबार भएको छ। मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्यमा ४ सय रुपियाँले वृद्धि भएको हो। मंगलबार छापावाल सुन प्रतितोेला ७६ हजार ७ सय रुपियाँमा कारोबार भएको थियो।

बुधबार तेजावी सुनको मूल्यमा पनि वृद्धि भएको छ। यस्तो सुन प्रतितोला ७६ हजार ८ सय रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ। यसदिन चाँदीको मूल्य प्रतितोला ९ सय ५ रुपियाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ८ सय ९० रुपियाँमा कारोबार भएको थियो।

गत वर्षको फागुन महिनामा सुनको मूल्य ६१ हजारदेखि ६२ हजारसम्मको वरिपरीमा रहेको थियो। गत वर्षको फागुन १ गते नेपाली बजारमा छापावाल सुनको मूल्य ६१ हजार ६ सय रुपियाँ कायम भएको थियो। त्यस्तै फागुन १५ गते सुनको मूल्य बढ्न गई ६२ हजार ६ सय रुपियाँमा कारोबार भएको थियो। फागुन २६ गते सुनको मूल्यमा गिरावट भई प्रतितोला ६० हजार ५ सय रुपियाँमा कारोबार भएको थियो। गत वर्ष फागुन महिनाको तुलनामा अहिले सुनको मूल्य करिब १० हजार रुपियाँभन्दा बढीे छ।
गत माघ महिनामा सुन प्रतितोला ७४ हजार रुपियाँदेखि ७६ हजारसम्ममा कारोबार भएको छ। निरन्तर बढ्ने क्रममा रहेको सुन बजार माघ महिनामा भने थोरै घटेको थियो। त्यस समयमा इरान र अमेरिकाबीचको तनाव, चीन र अमेरिकाबीचको व्यापार युद्ध तथा भारतमा भएको राजनीतिक अस्थिरताका कारण सुन बजार प्रभावित भएको विश्लेषण गरिएको थियो। विस्तारै यो समस्या समाधान हुने दिशामा अघि बढेपछि सुन बजार पनि लयमा फर्किन शुरू गरेको थियो।

अन्तर्राष्ट्रिय बजारमा १९ दशमलव ५ प्रतिशतको वृद्धि
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्ममा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १९ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्ष २०७५/०७६ को पुस मसान्तमा सुनको मूल्य प्रतिऔंस १२९२ दशमलव ७५ अमेरिकी डलर रहेको थियो। अहिले यसमा वृद्धि भई १५४५ दशमलव १० अमेरिकी डरल पुगेको छ।

सुस्तायो सुन बजार
सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले पोहोरको तुलनामा अहिले व्यापार निकै सुस्ताएको बताउनुभयो। नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले पछिल्लो माघ महिनामा सुनको मूल्य घटेर केही राहत महशुस भए पनि अहिले बढ्दा व्यवसाय नै संकटमा पर्न लागेको बताउनुभयो। ‘बजार सुनसानजस्तै छ, विवाहको सिजन भएकाले बल्लतल्ल ग्राहक त आएका छन्। तर, त्यति पर्याप्त छैन’–उहाँले भन्नुभयो।

व्यापार चौपट हुने चिन्ता
सुनको मूल्य महंँगिएसँगै यसको व्यापार चौपट भएको व्यवसायी शाक्यले बताउनुभयो। विवाहको समयमा सुनको मूल्य बढ्दा कारोबार हुन नसकेको उहाँले सुनाउनुभयो। सुनको मूल्यमा वृद्धि भएसँगै नेपाली बजारमा यसको व्यापार ह्वात्तै घटेको छ। सुनचाँदी व्यवसायी शाक्यले नेपाली बजारमा सुनको मूल्य बढ्नाले व्यवसायीमा निराशा छाएको बताउनुभयो। अहिले विवाहको सिजन भएको भन्दै दैनिक १० किलोको हाराहारीमा मात्रै सुन बिक्री गर्नु परेको उहाँले सुनाउनुभयो। उहाँका अनुसार अघिल्लो वर्षको फागुन महिनामा दैनिक २० देखि २५ किलोग्राम सुन खरिदबिक्री हुने गरेको थियो।

किन बढ्यो मूल्य ?
चीनको वुहानबाट विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस ‘कोभिड–२०१९) का कारण अर्थतन्त्रमा नै गम्भीर असर परिरहेको अवस्थामा सुन व्यवसाय पनि चौपट हुने अवस्था सिर्जना भएको हो। व्यवसायी शाक्यले महामारीका कारण मानिसले आफ्नो सुरक्षा–स्वास्थ्यतर्फ ध्यान दिएकाले सुन कारोबारमा मन्दी आएको सुनाउनुभयो। उहाँले भन्नुभयो–‘स्वभाविक नै हो, अहिले सुन किन्नुभन्दा पनि आफ्नो स्वास्थ्यको सुरक्षा कसरी गर्ने भन्नेतर्फ सोच्नुपर्छ, यसो भन्दै गर्दा हाम्रो व्यवसाय चाहिँ चौपट नै भएको छ।’