दर्जनौं अपराधका आरोपित पटेल पक्राउ

0
Shares

सञ्जय कार्की, रौतहट।

कर्तव्य ज्यानलगायत दर्जनौं अपराधका घटना गराएर वर्षौंदेखि फरार रहेका एक आरोपितलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। धन्सार जंगलसैया जाने बाटोमा प्रहरीले मंगलबार राति चार राउन्ड गोली प्रहार गरेर तत्कालीन तराई जनतान्त्रिक मुक्ति मोर्चाका इन्चार्ज कामेश्वर पटेल कुर्मीलाई पक्राउ गरेको हो।

उनी मौलापुर नगरपालिका–८ सोनरनिया निवासी हुन्। ४० वर्षीय पटेल अभय भनेर चिनिन्छन्। पटेलको बायाँ खुट्टामा दुई राउन्ड गोली लागेको छ। गोली लागी घाइते भएका उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ। उनको साथबाट प्रहरीले एक थान नलकटुवा पेस्तोलसहित पाँच राउन्ड गोली बरामद गरेको जनाएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक राजन थापाको कमान्डको टोलीले घटनाको मुचुल्का तयार गरेको जनाइएको छ।

बारा प्रहरीले खोजेको जानकारी पाएका पटेल भाग्दै सो स्थानमा आएको समयमा रौतहट प्रहरीले एम्बुस थापेको अवस्थामा गोली प्रहार गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीलाई देख्नासाथ पटेलले फायर खोलेकाले उनलाई पक्राउ गर्न चार राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।