१७५ विद्यार्थीलाई ‘क्लिन चिट’

0
Shares

काठमाडौं, (नेस)।

भक्तपुर खरिपाटी क्वारेन्टाइनमा राखिएका सबै विद्यार्थीले क्लिन चिट पाएका छन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सोको जानकारी गराइएको हो।

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले क्वारेन्टाइनमा रहेका १ सय ७५ जनाको नाक र घाँटीभित्रको नमुनाहरूमा नोभेल कोरोना भाइरस २०१९ नभेटिएको बताउनुभयो। अब क्वारेन्टाइनमा बसेको १४औं दिनपछि पुनः प्रत्येक व्यक्तिको नाक र घाँटीभित्रको स्वावको परीक्षण गरिने श्रेष्ठले जानकारी गराउनुभयो।

‘चीनको हुबेईबाट नेपाल ल्याइएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनी स्वस्थ हुनुभएको र कुनै पनि संक्रमण परीक्षणमा नदेखिएकाले कुनै पनि किसिमको संक्रमणबाट त्रसित हुनुनपर्ने व्यहोरा पनि जानकारी गराउन चाहन्छौं।’ –स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

टेकु प्रयोगशालाबाट फागुन ६ गते दिउँसो प्राप्त रिपोर्टअनुसार सबैमा कोरोना भाइरस नभेटिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। प्रवक्ता श्रेष्ठले नेपालीलाई त्रसित नहुनसमेत अनुरोध गर्नुभएको छ।

यता पर्यटन मन्त्रालयले भने मंगलबार विभिन्न भाषामा विज्ञप्ति नै जारी गरी चीनबाट पनि पर्यटकलाई नेपाल आउन आह्वान गरेको विषय स्वास्थ्य मन्त्रालयसँग कुनै छलफल नभएको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले जानकारी गराउनुभयो।

चीनबाट नेपाली विद्यार्थी लिएर आएका नेपाल एयरलाइन्सका पाइलटलगायतका कर्मचारी भने नगरकोटमा क्वारेन्टाइनमै सुरक्षित तरिकाले राखिएको र उहाँहरूको पनि आवश्यकताअनुसार स्वास्थ्य परीक्षण भइरहेको सचिव बरालले जानकारी गराउनुभयो।