एमसीसीबारे सुझाव मात्रै पेस

0
Shares

काठमाडौं, (नेस)।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा अध्ययन कार्यदलले अध्ययन गरेर सुझाव मात्रै पेस गर्ने बताउनुभएको छ।

बंगलादेशको औपचारिक भ्रमण सकेर स्वदेश फर्किनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताउनुभएको हो। परराष्ट्रमन्त्री ज्ञवालीले कार्यदलले एमसीसीका विषयमा अध्ययन गरेर सुझाव पेस गर्ने तर पारित गर्ने र नगर्ने विषयमा कुनै निर्णय नगर्ने बताउनुभयो।
पार्टीको केन्द्रीय समिति बैठकमा केही टोलीका नेताले यसको विषयमा प्रस्ट नबुझेकाले अध्ययन गरेर थप प्रस्ट पार्ने अधिकार दिएर कार्यदल गठन गरिएको र कार्यदलले अध्ययन मात्रै गर्ने उहाँको भनाइ थियो।

‘सरकारले एमसीसी साउनमै संसद्मा प्रस्तुत गर्नुको उद्देश्य प्रस्ट नै छ। हामीलाई दिएको विषय पनि त्यही हो, त्यसका बारेमा रहेका अस्पष्टताहरू प्रस्ट पार्न समिति गठन भएको हो’, उहाँले भन्नुभयो– ‘केन्द्रीय समितिमा केही सदस्यले नबुझेको र प्रस्ट पार्न भनेपछि त्यही क्षेत्राधिकार दिएर कार्यदल गठन भएको हो। दोस्रोपटक थपिएको समयभित्रै प्रतिवेदन बुझाउँछौं।’

नेकपाको केन्द्रीय समिति बैठकले ज्ञवालीसहित झलनाथ खनाल, भीम रावल गरी तीन सदस्यीय कार्यदल गठन गरेको थियो। अहिले कार्यदलले अध्ययन गरिरहेको छ। बंगलादेश भ्रमणका क्रममा त्यहाँका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसँग दुई देशको सम्बन्ध प्रगाढ बनाउने विषयमा छलफल भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो।

परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशको हितमा हुने गरी राजनीतिक सम्बन्ध सुदृढ गर्दै आर्थिक सम्बन्ध अझ गहिरो र फलदायी बनाउँदै लैजाने विषयमा कुराकानी भएको पनि बताउनुभयो। ‘जलविद्युत्लगायत ऊर्जाका स्रोतहरूको विकास एवं व्यापार गर्ने विषयमा पनि सहमति भएको छ’ –उहाँले भन्नुभयो।

बंगलादेशका वाणिज्यमन्त्री टिपु मन्सुलीसँग भएको भेटमा दुई देशको सम्पर्क सञ्जाललाई विस्तार गर्न दुवै देशका नजिक रहेका शहरबीच सीधा हवाई उडानको व्यवस्था गर्ने, सडक मार्गको सुधार तथा स्तरोन्नति गर्ने, रेलमार्गको सञ्जाल विस्तार गरी दुई मुलुकलाई जोड्ने नेपालका नदीहरू भारत र बंगलादेशका नदीहरूमा जोड्ने र जलमार्गको विकास गर्ने समझदारी भएको छ।

उहाँले चीनले कोरोना भाइरसविरुद्ध सफलता प्राप्त गर्दै गएको बताउनुभयो। चीनले कोरोना नियन्त्रणका लागि गरिरहेको कामलाई नेपालले ऐक्यबद्धता जनाएको बताउँदै उहाँले भन्नुभयो– ‘चीनमा देखिएको कोरोनाका कारण सगरमाथा संवादलाई कुनै असर गर्दैन।’ मन्त्री ज्ञवालीले भारतसँगको सीमा विवाद समाधान गर्न वार्ताको वातावारण बनिरहेको र दुवै देशको समयानुकूल मिति तय गरी वार्ता हुने पनि बताउनुभयो।