भ्रमण वर्ष र आयुर्वेदिक उत्पादनका लागि रामदेवको कार्यक्रम, एक हजार योगगुरु नेपाल ल्याउने

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

योगगुरु रामदेव ‘नेपालमै आयुर्वेदिक औषधि उत्पादन, गुरुकुल स्थापना र भ्रमण वर्षलाई सफल पार्ने’ उद्देश्यका साथ नेपाल आउने हुनुभएको छ।
करिब एक हजार योगगुरु, विभिन्न निकायका विशिष्ट व्यक्ति र कर्मचारीसहित उहाँ नेपाल आउन लाग्नुभएको पतञ्जली योगपीठ नेपालका संरक्षक शालिकराम सिंहले जानकारी दिनुभयो।

आगामी चैत २२ देखि पोखरामा आयोजना हुने तीनदिने योग शिविर सञ्चालन गर्न र पश्चिमाञ्चलको तीन स्थानमा गुरुकुल संस्था सञ्चालनको भूमिपूजा गर्न नेपाल आउन लाग्नुभएको हो। उहाँ सोही महिनाको २६ गतेसम्म नेपालमा रहने कार्यक्रम छ।

रामदेवको साथमा आचार्य बालकृष्णसहित अन्य गुरुको समेत सहभागिता रहने बताइएको छ। तीन वर्षअघि पनि उहाँ नेपाल आउनुभएको थियो। पाँच दिनअघि नेपाल भ्रमणमा आउनुभएका आचार्य बालकृष्णले रामदेवको भ्रमणको मिति तय गर्नुभएको हो।

‘नेपालले योग शिक्षालाई विशेष महत्व राखेको र विद्यालयमा समेत योग शिक्षा सञ्चालन गर्न थालेपछि त्यसलाई प्रोत्साहित गर्न गुरु रामदेव नेपाल आउन लाग्नुभएको हो’, संरक्षक सिंहले जानकारी दिनुभयो– ‘उहाँ आउने पक्का भएपछि योग शिविर र अन्य कार्यक्रमलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा काम शुरू गरेका छौं।’ उहाँका अनुसार रामदेवले पोखरा तथा स्याङ्जाको सावर र चापाकोटमा निर्माण हुन लागेको गुरुकुलको भूमिपूजा गर्ने कार्यक्रम तय भएको छ।

नेपालमा तीनदिन योग शिविर गरेपछि उहाँले कपिलवस्तु, भैरहवा, लुम्बिनी, पोखरा, चितवनलगायत गण्डकी र बाग्मती प्रदेशका विभिन्न जिल्ला भ्रमण गर्ने कार्यक्रम छ। संरक्षक सिंहका अनुसार योग शिविर र नेपाल भ्रमण वर्ष सफल पार्न ५ सयदेखि १ हजार जनासम्म गुरु र पतञ्जलीका उच्च अधिकारी नेपाल आउनेछन्। नेपाल बसाइको क्रममा रामदेवले नेपालका प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका नेता र योगगुरुसंँग भेट गर्ने कार्यक्रम छ।

विशेष गरी नेपालमा योग शिक्षा सञ्चालन गर्ने, आयुर्वेद अस्पताल निर्माण गर्ने योजना अघि बढाएको योगपीठले नेपालका विभिन्न जिल्लामा जग्गा खरिदसमेत गरिसकेको छ। नेपाल र नेपालीप्रति बढी चासो राख्ने रामदेवले आफ्ना योजनाकार आचार्य बालकृष्णमार्फत विभिन्न कार्यक्रम तय गर्नुभएको हो।

नेपालमा योगको विकास आयुर्वेद अस्पताल सञ्चालन गरी नेपालीलाई सेवा दिने विषयमा छलफल गर्न रामदेव र आचार्य नेपाल आउन लाग्नुभएको संरक्षक सिंहले जानकारी दिनुभयो।

गएको भदौ महिनामा हरिद्वारस्थित आफ्नै कार्यालयका एक कर्मचारीले बिष मिसाएको पेडा खाएपछि अशक्त भएका आचार्य आफ्नो स्वाथ्य अवस्थाका बारेमा नेपालीलाई जानकारी दिन करिब ६ महिनापछि नेपाल आउनुभएको थियो। भारतबाट पतञ्जलीको औषधि आउन छाडेपछि नेपालमै औषधि उत्पादन गर्ने तयारी गर्नु उहाँहरूको भ्रमणको उद्देश्य रहेको बताइएको छ। आचार्य पतञ्जली योगपीठका महासचिव हुनुहन्छ।

नेपाली मूलका आचार्य वर्षौंदेखि बाबा रामदेवको मुख्य योजनाकार हुनुहुन्छ। विश्वविख्यात फोब्स पत्रिकाले विश्वका ३६५औं धनी व्यक्तिमध्ये एक बताएका रामदेवले अचार्यकै योजनाअनुसार विश्वभर योग शिविर सञ्चालन गर्दै आउनुभएको छ।