पेटमा गाँजा, खुट्टामा बाँधेर डाइजेपाम

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

पेटमा बाँधेर गाँजा र खुट्टामा बाँधेर ल्याइएको लागुऔषध डाइजेपाम बरामद गरिएको छ । बिहीबार राति करिब पौने ८ बजे हेटौंडा–१५ को रातोमाटे चेकपोष्टमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गर्दा सोही टोलीले राति करिब पौने ९ बजे डाइजेपाम बरामद गरेको हो ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना. ५ ख ४६०४ नम्बर यात्रुबाहक बस चेक गर्ने क्रममा बसका यात्रीहरुबाट शरीरमा प्लास्टिकको टेप टाँसी लुकाइल्याएको लागुऔषध गाँजा २ किलो ५ सय ग्राम फेला पारिएको थियो ।

पक्राउ परेका भारतको बिहार जिल्ला पश्चिम चम्पारण, बेतिया कालाबाघ बस्ने वर्ष १९ का सर्तोज आलम र वर्ष १९ का समिर आलमलाई १ वर्षदेखि ३ वर्षसम्म कैद र ५ हजारदेखि २५ हजारसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना. ८ ख २८३१ नम्बर बस चेक गर्ने क्रममा सोही बसका यात्रीहरुले आफ्नो नली खुट्टामा बाँधी लुकाइछिपाइ ल्याएको लागुऔषध डाइजेपाम बरामद गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा–५, पिप्ले बस्ने वर्ष २५ का सुवास अर्यालको साथबाट डाइजेपाम १६ एम्पुल, फेनरागन १६ एम्पुल र नोर्फिन १६ एम्पुल गरी ४८ एम्पुल, हेटौंडा–८ को कमाने बस्ने वर्ष २५ का विकास कार्कीको साथबाट डाइजेपाम १५ एम्पुल, फेनरागन १५ एम्पुल, नोर्फिन १५ एम्पुल गरी ४५ एम्पुल बरामद गरिएको थियो । उनीहरुलाई २ वर्षदेखि १० वर्षसम्म कैद तथा १० हजारदेखि ५० हजारसम्म जरिवाना हुने प्रहरीको दाबी छ ।