प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री राईद्धारा शुभकामना


न्युज अफ नेपाल, विराटनगर ।

प्र्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय प्रजातन्त्र दिवस २०७६ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो । साथै मुख्यमन्त्री राईले प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने महान वीर शहीदहरुलाई स्मरण गर्दै उहाँहरुप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।

२००७ साल फागुन ७ गतेका दिन निरङ्‌कुश जहानियाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झना गरी हामी यो दिवस मनाइरहेका छौं शुभकामना सन्देशमा भनिएको छ, आजको दिन देशलाई लामो समयसम्म निरंकुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको दिन हो ।

आज हामीहरू संविधानसभाबाट लोकतान्त्रिक तथा प्रगतिशील संविधान निर्माण गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति, सामाजिक न्याय, आर्थिक समृद्धि एवं राष्ट्रियतालाई अझ सबल र सुदृढ गर्ने महत्वपूर्ण बिन्दुमा उभिएका छौं, सन्देशमा भनिएको छ ।

प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा हामीले अभूतपूर्व उपलब्धीहरु हासिल गरेका छौं, विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्षबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिहरु यतिबेला धमाधम संस्थागत हुँदैछन् ।

दुई बर्ष अगाडि गठन भएको प्रदेश सरकार हाम्रा वीर शहीदहरुले देखेको सपना साकार पार्न क्रियाशिल छ । अबको एजेण्डा विकास र समृद्धिको एजेण्डा रहेको मुख्यमन्त्री राईको भनाई छ । शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न समेत मुख्यमन्त्री राईले आह्वान गर्नुभएको छ ।