इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटरेजसँगको बैठकमा संयुक्त राष्ट्रले काश्मिर नागरिकलाई दिएको आफ्नो प्रतिबद्धताअनुसार उनीहरुलाई अधिकार दिलाउन मद्दत गर्नुपर्ने बताएका छन्।
संयुक्त राष्ट्र महासचिव अहिले पाकिस्तानको भ्रमणमा रहेका छन्। इमरानले भारतमाथि गत अगस्ट ५ मा जम्मु–काश्मिरबाट विशेष दर्जा अन्त्य गरी त्यहाँका नागरिकको मानवअधिकार हनन् गरेको आरोप लगाए। प्रधानमन्त्री कार्यालयले जारी गरेको एक विज्ञप्तीमा भनिएको छ, ‘प्रधानमन्त्रीले संयुक्त राष्ट्रलाई काश्मिरी नागरिक आफ्नो अधिकारी प्राप्त गर्न लगातार युएनतर्फ हेरिरहेको अवगत गराएको छ, किनभने यो मुद्दा संयुक्त राष्ट्र सुरक्षा परिषदका कयौं प्रस्ताव मध्यको एक हो।
भारतका तर्फबाट नियन्त्रण रेखामा लगातार संघर्ष विरामको उल्लघन भइरहेको इमरानले दाबी गरेका छन्। भारतबाट उक्साउने खालका टिक्काटिप्पणी हुने गरेको आरोप लगाउँदै काश्मिरमा आफ्नो गतिविधिबाट विश्वको ध्यान भड्काउन अन्य कुनै कारबाही गर्न सक्ने पनि उनले बताए। अफगानिस्तानको मुद्दामा अफगान संघर्षको कुनै सैन्य समाधान नभएको र अफगानिस्तानलाई युद्धबाट निकालेर शान्ति कायम गर्नमा पुरा समर्थन हुने पाकिस्तानले आश्वस्त पार्न चाहेको इमरानले बताए।
गुटेरेसद्वारा काश्मिर मुद्दामा मध्यस्थताको प्रस्ताव
यसअघि महासचिव गुटेरेजले आइतबार इस्लामावादमा आफू काश्मिरको स्थितिलाई लिएर चिन्तित रहेको र भारत–पाकिस्तानबीच लामो समयदेखि चलिरहेको विवाद समाधानमा मध्यस्थता गर्न सक्ने प्रस्ताव गरेका थिए। काश्मिरमा मुद्दामा मध्यस्थताको उनको प्रस्तावलाई भारतले अस्वीकार गरेको थियो।
भारतीय विदेश मन्त्रायलका प्रवक्ता रवीश कुमारले गुटेरेजको उक्त प्रस्ताव अस्विकार गर्दै जम्मुकाश्मिर सधँै भारतको अभिन्न अंग रहेको र भविष्यमा पनि रहने बताएका थिए। राष्ट्रसंघ प्रमुखलाई पाकिस्तानले भारत विरुद्ध प्रयोग भइरहेको आतंकवादमा विश्वसनिय कारबाही गर्न दबाव दिनुपर्ने उनले बताए। भारतको विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तीमा वास्तविक मुद्दा पाकिस्तानका तर्फबाट अवैध तरिकाले कब्जा गरेको क्षेत्र (पीओके)लाई खाली गराउनेमा हुनुपर्ने उल्लेख गरेको छ।
गत वर्ष जम्मु–काश्मिरबाट अनुच्छेद ३७० हटाइएपछि भारत र पाकिस्तानबीच तनाव बढेको हो। यस पैmसलापछि पाकिस्तानले भारतसँग कूटनीतिक सम्बन्ध समाप्त पारेको थियो र भारतीय राजनीतिज्ञहरुलाई देश छोड्न भनिएको थियो।
भारतले आफनो उक्त कदमको पृष्ठपोषण गर्दै विशेष दर्जाले काश्मिरमा आतंकवादले आश्रय पाइरहेको तर्कअगाडि सारेको थियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिरमा पृथक्तावाद र आतंकवादलाई प्रोत्साहन दिने काम भइरहेकाले अनुच्छेद ३७० हटाउने पैmसला लिएको बताएका थिए।
संयुक्त राष्ट्र महासचिव गुटेरेज पाकिस्तान भ्रमणका क्रममा गुरुद्वारा करतारपुर साहिब पनि जाने कार्यक्रम रहेको छ। सिखहरुको अत्यन्त पवित्र धार्मिक स्थलमध्यको एक मानिने करतारपुर साहिब हालै मात्र भारतका सिखहरुका लागि खुला गरिएको थियो।
गुटेरेजले काश्मिरमा भारत र पाकिस्तानको युनाइटेड नेसन्स् मिलिट्री अब्जर्वर ग्रुपलाई क्षेत्रमा पूर्ण पहुँच दिएकोमा इमरान खानलाई धन्यवाद दिए। उनले पाकिस्तानको सुरक्षा स्थिति र सम्पुर्ण एसियाली क्षेत्रमा शान्ति र स्थिरताका लागि प्रधानमन्त्रीको सराहना पनि गरे।











प्रतिक्रिया