राष्ट्रपति सिको आलोचना गर्ने प्राध्यापक र अभियन्ता कारबाहीमा 


बेइजिङ, (एजेन्सी)।
हाल चीनमा भयानक महामारीको रूपमा देखा परेको कोरोना भाइरस नियन्त्रण सम्बन्धमा राष्ट्रपति सी जिनपिङको आलोचना गर्दै व्यंगात्मक निबन्ध लेखेकै कारण एकजना चिनियाँ प्राध्यापकलाई नजरबन्दी बनाइनुका साथै उनको इन्टरनेट सेवा काटिएको मंगलबार उनका साथीहरुको भनाइलाई उद्धृत गर्दै दी गार्जियनले जनाएको छ।
चिनियाँ चान्द्रिक नयाँ वर्षको बिदा मनाएर राजधानी बेइजिङस्थित आफ्नो घर फर्केलगत्तै स्थानीय प्रशासनले सुझागरुनलाई नजरबन्दी बनाइएको हो। थुप्रै व्यक्तिले उनको घरको द्वारमा गस्ती गरिरहेका छन्। प्राध्यापकका साथीहरुले उनको समाजिक सञ्जालका एकाउन्टहरु पनि हटाइएको वा बन्द गरिएको दी गार्जियनलाई जानकारी दिएका छन्।
बेइजिङको प्रतिष्ठित सिन्गुआ विश्वविद्यालयका कानुन विषयका प्राध्यापक सुले लेखेको ‘भाइरल अलार्म ः व्हेन फ्युरी ओभरकम्स फियर ’ शीर्षकको अंग्रेजीमा अनुवाद गरिएको व्यंगात्मक निबन्ध चाइना फाइलमा राखिएको छ। त्यस निबन्धमा सरकारको अधिनायकवादी प्रणालीअन्तर्गत राष्ट्रमा कडा सेन्सरसिप अपनाउने गर्दा कोभिड –१९ भाइरसको महामारी नियन्त्रणमा कठिनाइ उत्पन्न भइरहेको उल्लेख गरिएको छ।
चीन सरकारले सार्वजनिक गरेको मंगलबारसम्मको पछिल्लो तथ्यांकअनुसार केभिड–१९ को संक्रमणको कारण मर्नेको संख्या १ हजार ८ सय ६८ तथा संक्रमितको संख्या ७२ हजार ४ सय ३६ पुगेको छ। यसैबीच चीन सरकारले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणमा देखिएको कमजोरीको कारण राष्ट्रपति सीले राजीनामा दिनुपर्ने आवाज उठाएका कारण कानुनका ज्ञाता तथा प्रमुख मानवअधिकारवादी अभियन्ता सु झियोंगलाई प्रहरीले गिरफ्तार गरेको उनका अन्य दुईजना सहकर्मी अभियन्ताले सोमबार बताएका छन्।
उनी चीनमा मानवअधिकारको अवस्थाबारे दक्षिणी शहर सियामेनमा आयोजित एक बैठकमा भाग लिएयता डिसेम्बरदेखि उनी भूमिगत भएका थिए। सुका मित्र तथा अभियन्ता हुआ जेले सो बैठकमा भाग लिने अन्य चारजनालाई डिसेम्बरमै प्रहरीले गिरफ्तार गरेको रोयटर्सलाई जानकारी गराएका छन्। उहाँका अनुसार गुआगझाउ प्रहरीको सहयोगमा बेइजिङ प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो।
यस विषयमा जानकारीका लागि पठाइएको फ्याक्सको बेइजिंग र गुआगझोउ प्रहरीले अहिलेसम्म कुनै जवाफ नदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। अमेरिकास्थित ह्युमन राइट वाच चाइनाका अनुसन्धानकर्ता याक्वी वाँगले बेईजिंग निवासी सुवा गर्लफ्रेन्ड पनि शनिवार सम्मपर्क बाहिर रहेको बताएका छन्। लामो समयदेखि न्यायिक रकानुनी सुधारका लागि अभियान चलाउँद आएका सुले सन् २०१२ मा ‘ न्यु सिटिजन्स मुभमेन्ट ’ गठन गरेको थियो। त्यसले सरकारी अधिकारीहरुको सम्पत्ति सार्वजनिक गर्न माग गरेको थियो।