नयाँ ज्ञान निर्माणमा जोड


काठमाडौं (नेस)।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयले नयाँ ज्ञान निर्माणमा जोड दिनुपर्ने कुरा बताउनुभएको छ।
बानेश्वर बहुमुखी क्याम्पसको २९औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भन्नुभयो– ‘बिगतको ज्ञान हस्तान्तरण गर्ने विश्वविद्यालय शिक्षाको एउटा प्रमुख पक्षबाट माथि उठेर नयाँ युगमा आएको परिवर्तनलाई आत्मसात् गर्दै हाम्रा विश्वविद्यालयले नयाँ ज्ञान निर्माणमा जोड दिनुपर्ने बताउनुभयो।’
मन्त्री पोखरेलले विश्वविद्यालयले राष्ट्र हाँक्न सक्ने जनशक्ति उत्पादन गरे समृद्धिको यात्रा सफल हुने कुरा बताउनुभयो।
मन्त्री पोखरेलले कामको संसारसँग पढाइको संसार मेल खानुपर्दछ। यो चुनौतीलाई पार लगाउन मन्त्रालयले नीतिगत तहमा पहिलोपटक शिक्षाको राष्ट्रिय नीति ल्याइएको बताउनुभयो।
कार्यक्रममा अनेरास्ववियुका नेता विजय गौतमले २१औं शताब्दीका विद्यार्थीलाई १७/१८औं शताब्दीको पाठ्यक्रम र शिक्षण विधिले पढाएर अपेक्षित उपलब्धि हासिल हुन नसक्ने बताउनुभयो। नेविसंघका महामन्त्री बलदेब तिमल्सिनाले शिक्षामा राज्यले लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो। क्याम्पस प्रमुख घमानसिं बस्नेतले बानेश्वर क्याम्पसले सस्तो शुल्कमा स्तरीय शिक्षा दिइरहेको दाबी गर्नुभएको थियो।
कार्यक्रममा प्रदेशसभा गणेश दुलाल, लक्ष्मण लम्साल, तारानारायण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। वार्षिकोत्सवको अवसरमा उत्कृष्ट शिक्षक, विद्यार्थीलाई तथा अतिरिक्त क्रियाकलापअन्तर्गत सम्पन्न प्रतियोगिताका विजयी विद्यार्थीलाई सम्मान एवं पुरस्कृत गरिएको थियो। कार्यक्रमको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिबोल भट्टराईले गर्नुभएको थियो।