भूकम्प पीडितलाई जापानको सहयोग


काठमाडौं, (नेस) 
जापान सरकारले भूकम्पबाट पीडित सिमान्तकृत नेपाली समुदायका बालबालिकाको शिक्षाका लागि ६ करोड ३५ लाख ५० हजार रुपियाँ बराबरको सहयोग गरेको छ।
नेपालस्थित जापानी राजदूतावासले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार राजदूत साइगो मासामिची र शान्ति स्वयंसेवक संघ नेपालका निर्देशक मियाकी टाकाफुमीबीच सहयोग रकम हस्तान्तरण गरिएको हो।
उक्त सहयोगको रकमले ललितपुर, सोलुखुम्बु, स्याङ्जा र महोत्तरी जिल्लामा रहेका सामुदायिक पुस्तकालय तथा वाचनालय निर्माण गरिनेछ। बालबालिका केन्द्रित सिकाइ पद्धति अपनाइ उनीहरूको पढ्ने बानी विकास गर्ने परियोजनाको लक्ष्य छ। मकवानपुर जिल्लाका ५३ विद्यालयका सिमान्तकृत समुदायका बालबालिकाका लागि सुविधा पु¥याउने उद्देश्यका साथ काम हुनेछ।
सम्झौता हस्ताक्षर समारोहमा बोल्दै राजदूत साइगोले स्थानीय विषयवस्तु समेटेर तयार पारिएको पाठ्यक्रमले शिक्षा क्षेत्रमा संघीयता अवधारणा विकास गर्न नेपाल सरकारलाई सघाउने धारणा राख्नुभयो। उहाँले सामुदायिक विद्यालयमा भएको क्षतिको घाउमा मल्हमपट्टी लगाउने मात्र होइन समुदायकै क्षमता अभिवृद्धि गर्ने पनि विश्वास प्रकट गर्नुभयो।
शान्ति स्वयंसेवक संघले स्थानीय गैरसरकारी संस्थासँग मिलेर नेपालको शैक्षिक क्षेत्रमा सघाउँदै आएको छ।