पृतनापति सम्मेलन सम्पन्न


नेपाल समाचारपत्र, काठमाडौं ।
सैनिक मुख्यालयमा तीन दिनदेखि भएको ‘पृतनापति समन्वयात्मक बैठक’ प्रधानसेनापति पूर्णचन्द्र थापाले समापन गर्नुभएको छ। 
प्रधानसेनापति थापाले समापन मन्तव्य राख्दै संगठनमा प्रणालीको विकास गरी आन्तरिक व्यवस्थापनको पक्षलाई पारदर्शी र प्रभावकारी बनाउनका लागि कमान्ड प्रतिबद्धता, नेतृत्व संवाद, त्रैमासिक रोलकल, सिपाहीका साथ प्रधानसेनापति, निरीक्षण, अनुगमन र प्रतिवेदन, पृष्ठपोषण प्रणाली, फिल्ड सर्वेक्षण, सुझाव तथा सिकायत पेटिकाजस्ता संयन्त्र प्रयोगमा ल्याइएका छन् भने नीति नियमहरू परिमार्जन गर्ने र आवश्यक नयाँ नीतिनियम तयार गर्ने कार्य निरन्तर भइरहेको बताउनुभयो ।
राष्ट्रिय स्वार्थ र हितका विरुद्ध हुन सक्ने कुनै पनि गतिविधि हुन नदिनु र भइहाले पनि परिस्थितिलाई नियन्त्रणमा लिन प्रतिक्रियात्मक क्षमतासहित तयार रही राष्ट्रिय सुरक्षा सबल बनाउनु नेपाली सेनाको संवैधानिक जिम्मेवारी भएकोले सो कार्यका लागि सदैव तयारी हालतमा रहनुपर्नेसमेत निर्देशन दिनुभएको थियो।
मन्तव्यकै क्रममा उहाँले नेपाली सेनासँगको स्रोत र एकीकृत क्षमताको पक्षलाई हामीले संगठनको दीर्घकालीन हित हुने तवरले सोच्ने, अवधारणाको विकास गर्ने र कार्यान्वयनका लागि आफ्नो व्यक्तिगत स्वार्थभन्दा बाहिर आउनुपर्ने बताउनुभयो।
साथै, उहाँले महाशिवरात्रि तथा सेना दिवस २०७६ को उपलक्ष्यमा बधाई दिँदै आगामी दिनहरूमा समेत उच्च हौसलाका साथ सबै तहका कमान्डले मातहतलाई समेत अभिप्रेरित गरी कार्य सम्पादन गर्न निर्देशन दिनुभयो।
समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाले आआफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने सुरक्षा चुनौतीहरू एवं सुझावको सम्बन्धमा प्रस्तुतीकरण गर्नुको साथै नेपाली सेनाका विविध कार्यहरूको प्रगति समीक्षा, मूल्यांकन र विश्लेषणसमेत भएको थियो।
नियमित रूपमा सञ्चालन हुने यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तक्र्रियाको माध्यमबाट आउने रचनात्मक सुझावहरूले नेपाली सेनाको नीति तथा योजना निर्माणमा ठोस योगदान पु¥याउन थप सहयोग पुगेको विश्वास नेपाली सेनाले लिएको छ।